प्रेमको सबैभन्दा ठूलो उदाहरण (यूहन्ना ३:१६) क्रिसमस सन्देश ४
Love’s Greatest Example (John 3:16) Christmas Message IV
परिचय
क्रिसमसमा, हामी डुँडमा राखिएको बालकको जन्म मात्र मनाउँदैनौं। हामी अहिलेसम्म देखाइएको सबैभन्दा ठूलो प्रेमको उदाहरण मनाउँछौं। हामी त्यो प्रेमले पूरा गरेको सबैभन्दा ठूलो आवश्यकतालाई, जुन सबैभन्दा ठूलो उदाहरण (येशू ख्रीष्ट) मार्फत देखाइएको थियो त्यो कामको सफलतालाई मनाउँछौं। येशूको जन्म तब मात्र अर्थपूर्ण हुन्छ जब हामी धर्मशास्त्रको पुरा कथा हाम्रो पाप, परमेश्वरको प्रेम, र ख्रीष्टको बलिदान मार्फत हेर्छौं।
यी तीन वास्तविकताहरूलाई हेरौं।
१. हाम्रो सबैभन्दा ठूलो आवश्यकता
रोमी ५:७-८
“धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।”
धर्मशास्त्रले एउटा कुरा स्पष्ट पार्छ: यो संसारमा साँच्चै नै धर्मी व्यक्ति कोही छैन। रोमी ३:१०-१२ ले हामीलाई बताउँछ कि कोही पनि धर्मी छैन, कोही पनि असल गर्दैन, र कोही पनि आफ्नै प्रयासमा परमेश्वरलाई खोज्दैन। यद्यपि हामी पवित्रताको लागि प्रयास गर्छौं, र हामीले गर्नुपर्छ, तैपनि हामी आफ्नै शक्तिले पापरहितता प्राप्त गर्न सक्दैनौं। हाम्रो समस्या गहिरो छ: आदमदेखि हामीसँग वंशानुगत पापी स्वभाव छ (रोमी ५:१२-१९)। हामी पतित (पापी) भएर जन्मेका हौं, र हामी प्रत्येकले आफ्नै छनौट मार्फत त्यो पतन पुष्टि गर्छौं। त्यस अर्थमा, कोही पनि साँच्चै असल हुँदैन।
पावलले मानव प्रेमको बारेमा कुरा गर्न यो वास्तविकता प्रयोग गर्छन्: दुर्लभ भए पनि, कुनै व्यक्ति आफूले प्रशंसा गर्ने कसैको लागि मर्न तयार हुन सक्छ। आमाबाबु आफ्ना छोराछोरीको लागि मर्न सक्छन्; सिपाहीहरू आफ्ना संगीहरूको लागि मर्न सक्छन्। यी बलिदानहरू महान छन्, तर तिनीहरू अपवाद हुन्, नियम होइनन् (exceptions, not the norm)।
मानव प्रेमको सीमा हुन्छ। त्यो सत्यलाई मनमा राख्दै, पावलले परमेश्वरको प्रेमको अद्भुततालाई उजागर (प्रकाश) पार्न एउटा भिन्नता प्रस्तुत गर्छन्:
“तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।”
ख्रीष्ट धर्मी वा असल मानिसहरूको लागि मर्नुभएन, किनकि त्यहाँ कोही पनि असल थिएन। उहाँ पापीहरूको लागि मर्नुभयो: अयोग्य, प्रेमहीन र अनिच्छुकहरू। येशू क्रूसमा हाम्रो सट्टामा मर्नुभयो। उहाँले क्रूसमा हाम्रो दोष लिनु र दण्ड भोग्नुभयो। उहाँ संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा हुनुहुन्छ। यो प्रेम पूर्णतया अनुपयुक्त छ (utterly undeserved)। येशूले क्रूसमा मृत्युसम्म आफूलाई नम्र तुल्याउनुभयो। (फिलिप्पी २:८) आदमको अनाज्ञाकारिताले मृत्यु ल्यायो; तर ख्रीष्टको आज्ञाकारिताले जीवन ल्यायो।
क्रूसमा ख्रीष्टको कामद्वारा, परमेश्वरले हाम्रो सबैभन्दा ठूलो आवश्यकता, पापबाट मुक्ति, पूरा गर्नुभयो।
२. सबैभन्दा ठूलो प्रेम
यूहन्ना ३:१६
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो…”
परमेश्वरले, विद्रोह, भग्नावशेष र पापले भरिएको, संसारलाई किन प्रेम गर्नुहुन्छ?
किनभने उहाँको प्रेम उहाँबाटै सुरु हुन्छ, हामीबाट होइन। परमेश्वरको प्रेम हाम्रो योग्यतामा निर्भर छैन। उहाँको प्रेम हामीमा भएको कुनै पनि कुराबाट उत्पन्न हुँदैन। उहाँको प्रेम हाम्रो कामको परिणाम होइन।
उहाँले प्रेम गर्नुहुन्छ किनभने उहाँ नै प्रेम हुनुहुन्छ (१ यूहन्ना ४:८)।
उहाँले नै पहिले प्रेम गर्न रोज्नुहुन्छ (१ यूहन्ना ४:१०)।
र उहाँले ख्रीष्ट द्वारा त्यो प्रेम प्रकट गराउनुहुन्छ (१ यूहन्ना ४:९)।
तसर्थ, प्रेम एउटा कमाउने कुरा होइन, तर प्रेम एउटा उपहार हो जुन हामीले ग्रहण गर्न सक्छौं। त्यसैले, नम्रतापूर्वक हामी परमेश्वरको उपहार ग्रहण गर्छौं। क्रिसमसमा, परमेश्वरले सबैभन्दा महान्, सर्वोत्तम र कल्पना गर्न सकिने सबैभन्दा बहुमूल्य उपहार दिनुभयो, जो उहाँको एक मात्र पुत्र, ख्रीष्ट येशू हुनुहुन्छ। येशू संसारमा हामीले कहिल्यै गर्न नसक्ने काम गर्न आउनुभयो: हामीले जिउन नसक्ने जीवन जिउनु, हामीले बोक्न नसक्ने पापको भार बोक्नु, र हामीले धान्न नसक्ने मूल्य तिर्नु।
“...ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”
येशू, उहाँको अनन्त प्रेमको कारणले, हामीलाई बचाउन आउनुभयो।
क्रिसमसमा, परमेश्वरको प्रेम र अनन्त जीवनको प्रतिज्ञा यहूदीहरूलाई मात्र होइन, तर संसारलाई पनि उपलब्ध गराइन्छ। उहाँ प्रतेक हराएकाहरूलाई खोज्न र बचाउन आउनुभयो (लूका १९:१०)। जब हामी यो सत्यमा विश्वास गर्छौं, कि येशू परमेश्वरको पुत्र हुनुहुन्छ जो हामीलाई परमेश्वरको प्रेम देखाउन आउनुभयो, हामीले अनन्त जीवन पाउँछौं। अनन्त जीवन कमाउन हामीले केहि गर्नु पर्दैन; हामीले केवल हाम्रो मुखले येशू नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गरेर र परमेश्वरले येशूलाई मृत्युबाट बौराउनुभयो भनेर हाम्रो हृदयमा विश्वास गरे पुग्छ (रोमी १०:९-१०), किनकि येशू नै प्रभु र परमेश्वर हुनुहुन्छ (यूहन्ना २०:२८)।
३. सबैभन्दा ठूलो उदाहरण
यूहन्ना १५:१३
“आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।”
यदि तपाईं प्रेम नाप्न चाहनुहुन्छ भने, येशूलाई हेर्नुहोस्।
उहाँले प्रेमलाई केवल मनोभाव वा भावनाको रूपमा नभई आत्म-त्याग बलिदानको (self-giving sacrifice) रूपमा परिभाषित गर्नुहुन्छ। क्रूसमा जानुभन्दा पहिले, येशूले यी माथिका शब्दहरू भन्नुभयो, उहाँले प्रेम गर्नेहरूका लागि चुकाउन लाग्नुभएको मूल्यलाई पूर्ण रूपमा जान्नुहुन्थ्यो। यूहन्ना १५ मा, येशूले आफ्ना अनुयायीहरूलाई सेवक होइन, मित्र भन्नुहुन्छ। त्यसपछि उहाँले सान्त्वनाको सट्टा पीडा, आत्म-संरक्षणको सट्टा आज्ञाकारिता र मुकुट सट्टा क्रूस रोजेर आफ्ना मित्रहरूप्रतिको आफ्नो प्रेम प्रदर्शन गर्नुभयो।
यसबाहेक, येशू आफ्ना नजिकका साथीहरूको लागि मात्र मर्नुभएन; उहाँको प्रेम-बलिदान (sacrificial love) द्वारा उहाँमा विश्वास गर्ने सबैको लागि उहाँ मर्नुभयो। येशू आफ्ना सबै पापी साथीहरूको लागि मर्नुभयो जब तिनीहरू पापी नै थिए। उहाँले खुसीसाथ उनीहरूको लागि आफ्नो जीवन अर्पण गर्नुभयो।
फेरि येशुले भन्नुभयो,
“यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।” (यूहन्ना १३:३५)
यदि हामीले येशूको प्रेम पाएका छौं भने, हामीलाई यस प्रेमलाई प्रतिबिम्बित गर्न बोलाइएको छ। यो प्रेम देखाउने हावभावहरू द्वारा होइन, तर धैर्यता साथ जुन क्षमा, विनम्र सेवा, र आफूभन्दा पहिले अरूलाई रोज्ने माध्यमबाट व्यक्त हुन्छ।
साँचो प्रेमले उदारता साथ दिएर ख्रीष्टको अनुकरण गर्छ।
निष्कर्ष
क्रिसमसको कथा भावनात्मक हैन; त्याग हो।
येशू मर्नको लागि जन्मनुभएको थियो, ताकि हामी बाँच्न सकौं। हाम्रो सबैभन्दा ठूलो आवश्यकताले सबैभन्दा ठूलो प्रेमको माग गर्यो, र परमेश्वरले त्यो आवश्यकतालाई सबैभन्दा ठूलो उदाहरण, आफ्नो पुत्र, जसले आफ्ना मित्रहरूको लागि आफ्नो जीवन अर्पण गर्नुभयो, मार्फत पूरा गर्नुभयो।
क्रिसमसमा, हामी उहाँको जन्मलाई मात्र सम्झँदैनौं। हामी परमेश्वरलाई सम्झन्छौं जसको प्रेमले उहाँलाई हाम्रो लागि आफैलाई अर्पण गर्न प्रेरित गर्यो। हामी त्यो प्रेमलाई विश्वासका साथ प्राप्त गरौं, र क्रूसले आकार दिएको जीवनद्वारा यसलाई प्रदर्शन गरौं।
प्रश्न: आज तपाईं आफ्नो सम्बन्धमा येशूको प्रेम कसरी प्रतिबिम्बित गर्न सक्नुहुन्छ? अरूसँगको अन्तरक्रियामा तपाईं कसरी धैर्य, क्षमा र नम्रता देखाउनु हुन्छ?






