आशा (लूका २:२५-३२) क्रिसमस सन्देश ३
Hope (Luke 2:25-32) Christmas Message III
१. विश्वासयोग्यतापूर्वक पर्खने आशा (पद २५-२६)
के तपाईंले “हाचिको” नामको कुकुरको कथा सुन्नुभएको छ?
यो जापानको एउटा कुकुरको वास्तविक कथा हो।
१९२३ मा जन्मिएका “हाचिको” लाई १९२४ मा टोकियो इम्पेरियल विश्वविद्यालयका (Tokyo Imperial University) प्रोफेसर हिदेसाबुरो उएनोले (Hidesaburō Ueno) अपनाएका थिए। हरेक बिहान, हाचिको प्रोफेसरसँग शिबुया स्टेशनमा प्रोफेसरलाई छोड्न हिँड्थे, र साँझमा फेरी हाचिको प्रोफेसरलाई लिनु स्टेशनमा जान्थे। यसरी हाचिकोले आफ्नो मालिकलाई दिनहुँ बिदा गर्ने र लिनु जाने गर्थे। हाचिकोले कहिल्यै एक दिन पनि छुटाएनन्। तर एक दिन मे २१, १९२५ मा, प्रोफेसरको कामको क्रममा मस्तिष्क रक्तस्रावका (cerebral hemorrhage) कारण मृत्यु हुन्छ र उनी कहिल्यै स्टेशनमा फर्किदैनन्। त्यो दिन पनि हाचिको आफ्नो मालिकलाई दिनहुँ झैं शिबुया स्टेशनमा लिनु जान्छन्। तर प्रोफेसर आउनु भएन। हाचिकोले आफ्नो मालिक मरेको कुरा बुझेनन्। हाचिको आर्को दिन पनि स्टेशनमा प्रोफेसरलाई लिनु जान्छन्। यसरि हाचिकोले अर्को नौ वर्षसम्म आफ्नो मालिकको प्रतीक्षा गर्दै हरेक दिन त्यहि समयमा स्टेशनमा जान जारी राख्छन्। र एक दिन हाचिको पनि मृत्यु हुन्छ।
हाचिकोले आफ्नो मालिक फर्कने आशा कहिल्यै हराएनन्, त्यसैले उनी हरेक दिन उत्सुकतापूर्वक स्टेशनमा पर्खन्थे। कुनै आशा नभएको जस्तो लागे पनि उनले कहिल्यै आशा मारेनन्। त्यसैले आज पनि शिबुया स्टेशनको (Tokyo, Japan) अगाडि हाचिकोको मूर्ति छ।
प्रश्न: तपाईंले अहिलेसम्म सबैभन्दा लामो समय के को लागि पर्खनुभएको छ? के यो कुनै चीज, व्यक्ति, वा अवसर थियो?
लूकाले हामीलाई शिमियोन नाम गरेको मानिससँग परिचय गराउँछन्।
शिमियोन को थिए?
लूकाले शिमियोनलाई “धर्मी र भक्तजन” को रूपमा वर्णन गर्छन्, जसको अर्थ उनी परमेश्वरको सामु विश्वासयोग्य रूपमा बाँचे र परमेश्वरसँगको आफ्नो सम्बन्धलाई गम्भीरतापूर्वक लिए भन्ने कुरा जनाउँछ। उनको चरित्रले देखाउँछ कि परमेश्वरको प्रतीक्षा गर्नुको अर्थ निष्क्रियता होइन, तर आज्ञाकारिता, भरोसा, र सक्रियताको जीवन हो।
लूकाले हामीलाई यो पनि बताउँछन् कि शिमियोन पर्खिरहेका थिए।
उनी के पर्खिरहेका थिए?
उनी इस्राएलको सान्त्वनाको लागि पर्खिरहेका थिए। यो वाक्यांशले परमेश्वरले आफ्ना जनहरूको लागि प्रतिज्ञा गर्नुभएको सान्त्वना र मुक्तिलाई जनाउँछ, पुनर्स्थापना गराउने र शान्ति ल्याउने मसीहको आगमन।
शिमियोन किन यति धेरै आत्मविश्वासका साथ पर्खिरहेका थिए?
किनभने पवित्र आत्माले उनलाई प्रतिज्ञा गर्नुभएको थियो कि उनी मसीहलाई नदेखेसम्म मर्नेछैनन्। शिमियोनको आशा इच्छाको सोचमा आधारित थिएन, तर परमेश्वरको व्यक्तिगत प्रतिज्ञामा आधारित थियो। उनको प्रतीक्षा परमेश्वरले आफ्नो वचन पालन गर्नुहुनेछ भन्ने विश्वासमा आधारित थियो।
यहाँ अनुवाद गरिएको ग्रीक शब्द प्रोस्डेखोमाई (prosdéxomai) ले अपेक्षाकृत प्रतीक्षालाई व्यक्त गर्दछ जहाँ एक व्यक्ति आशा गरिएका सबै कुरा प्राप्त गर्न तयार र इच्छुक हुन्छ। यो सक्रिय प्रतीक्षा “खोज्दै र पर्खँदै!” हो। सक्रिय रूपमा पर्खाई!
प्रश्न: तपाईं के आशा गर्दै हुनुहुन्छ? तपाईं त्यसको लागि कसरी सक्रिय रूपमा पर्खिरहनुभएको छ?
ख्रीष्टियन आशा मृत्यु पछिको जीवनको आशा मात्र होइन। यो अहिले नै अनन्त जीवनको आशा हो। यो तपाईंले येशूलाई आफ्नो जीवन दिनुभएको क्षणदेखि नै सुरु हुन्छ, तपाईंले अनन्त जीवन पाउनुहुन्छ। विश्वासीहरूले वर्तमानमा अनन्त जीवन पाउँछन् (यूहन्ना ५:२४; १७:३)। ख्रीष्टियन आशा अहिले सुरु हुन्छ, तर मृत्यु पछि पनि पूरा हुन्छ।
थप के छ भने, आशा यो छ कि हामीले एक दिन येशूलाई आमनेसामने देख्नेछौं (१ कोरिन्थी १३:१२; १ यूहन्ना ३:२)। आशा यो छ कि हामीले एक दिन ख्रीष्टमा सँगी दाजुभाइ र दिदीबहिनीहरूलाई भेट्न पाउनेछौं (१ थेसलोनिकी ४:१६-१७; प्रकाश ७:९)। आशा यो छ कि हामी एक दिन पापरहित जीवन बिताउनेछौं जुन हाम्रो लागि परमेश्वरको महिमा हो (रोमी ८:१८-२१; प्रकाश २१:३-४, २७)।
ख्रीष्टियन आशा ख्रीष्टमा अनन्त जीवनबाट सुरु हुन्छ, तर यो यसको पूर्तिको प्रतीक्षामा छ - पुनरुत्थान, येशूलाई आमनेसामने देख्ने, परमेश्वरका जनहरूसँगको उत्तम संगति, र परमेश्वरको महिमामा सधैंभरि पापरहित जीवन।
२. परमेश्वरको प्रतिज्ञाको पूर्तिलाई पहिचान गर्ने आशा (पद २७-३०)
एउटा विमानस्थलमा एक जना मानिस ट्रान्जिट स्टपको समयमा रहेछ। उनको उडान ढिलो भएकोले उनले केहि समय पर्खनु पर्यो। अब उडानको लागि केही घण्टा मात्र बाँकी थियो, तर ऊ सतर्क रह्यो। उनले विमानस्थलको उड्डयन सूचनाहरू ध्यानपूर्वक सुने र उडान जानकारी मनिटरमा आँखा राखे। आफ्नो उडानको अपडेट देख्ने बित्तिकै, उनी बोर्डिङ गेटतिर लागे।
यद्यपि, त्यहाँ अरूहरू पनि थिए जसले स्क्रिनमा उड्डयन सूचनाहरू वा अपडेटहरूमा ध्यान दिएनन्। त्यसकारण, तिनीहरूले आफ्नो कनेक्टिङ उडान छुटाए।
त्यसैगरी, आशामा पर्खनेहरू सतर्क रहन्छन्। जब त्यो कुरा आउँछ तब तिनीहरूले आशा गरिरहेका कुरालाई चिन्छन्। किनभने तिनीहरू हेरिरहेका र सुनिरहेका हुन्छन्, तिनीहरूले यसलाई छुटाउँदैनन्।
शिमियोनले परमेश्वरको प्रतिज्ञा पूराभएको देख्न चुकेनन्। उनी धेरै वृद्ध भैसकेका थिए, तरपनि परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको हुनाले उनी नियमित रूपमा मन्दिर जान्थिए। धेरै वर्षको पर्खाइ पछि पनि, शिमियोनले आशा मारेनन्। उनको आशा सक्रिय रह्यो, निष्क्रिय होइन। धेरैले हेर्न छुटाएका कुरा शिमोनले मात्र देखे। उनले परमेश्वरलाई पछ्याउन र उहाँको प्रतिज्ञामा भरोसा गर्न जारी राखे।
उनले किन हेर्न छुटाएन्न त?
लूकाले हामीलाई बताउँछन् कि पवित्र आत्माले शिमियोनलाई ठीक समयमा मन्दिरमा डोऱ्याउनुभयो। शिमियोनले पवित्र आत्माको अगुवाइमा ध्यान दिए। त्यसैकारण, उनले मसीहलाई चिन्न सके, सिंहासनमा बसेको राजाको रूपमा होइन, तर आफ्ना आमाबाबुको काखमा भएको साधारण बालकको रूपमा।
यो प्रकाश प्रति शिमियोनले कस्तो प्रतिक्रिया देखाए?
उनको प्रतिक्रिया सन्तुष्टि (शान्ति) र आराधना थियो। उनले घोषणा गरे, “मेरा आँखाले तपाईंको मुक्ति देखेका छन्।” शिमोनको लागि आशा पूरा भयो, र पर्खाइले गहिरो सन्तुष्टि र प्रशंसामा रूपान्तरण गर्यो।
प्रश्न: अरूले नदेख्दा तपाईंले कसरी परमेश्वरको काम आशाद्वारा देख्नुहुन्छ?
३. सबै मानिसहरूमा फैलिएको आशा (पद ३१-३२)
यद्यपि यो वाचा शिमोनलाई व्यक्तिगत रूपमा गरिएको थियो, तर यो कहिल्यै पनि उनको लागि मात्र थिएन। परमेश्वरको आशाको पूर्ति कहिल्यै पनि निजी वा विशेष एक जनाको लागि मात्र हुँदैन। शिमोनले अनुभव गरेको कुरा धेरै ठूलो योजनाको अंश थियो।
यो प्रतिज्ञा केवल यहूदीहरूको लागि मात्र थिएन, तर सबै मानिस जातिको लागि थियो। परमेश्वरको आशा समावेशी छ। यो एक व्यक्ति, एक राष्ट्र, वा एक पुस्ताभन्दा बाहिर पुग्छ। त्यसैले ख्रीष्टियनहरूले आफ्ना आशीसहरू, प्रार्थनाहरूको जवाफ र परमेश्वरमा आशा अरूसँग बाँड्छन्। परमेश्वरबाट आउने आशा अरूलाई साक्षी दिन र बाँड्नका लागि हो।
मुक्तिको आशाको प्रतिज्ञा परमेश्वरले इस्राएल द्वारा गर्नुभयो तर त्यो सारा संसारको लागि अन्यजातिहरू सहित थियो। शिमियोनले यो कुरा स्वीकार गर्छन् जब उनी घोषणा गर्छन् कि परमेश्वरको मुक्ति “सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ।” यसको अर्थ परमेश्वरको उद्धारको योजना कहिल्यै लुकेको वा सीमित थिएन, यो सधैं सबैको लागि अभिप्रेरित थियो।
येशूलाई अन्यजातिहरूलाई प्रकाशको लागि ज्योति र इस्राएलको महिमाको रूपमा वर्णन गरिएको छ। ज्योतिको रूपमा, येशूले पहिले परमेश्वरलाई नचिनेकाहरूलाई परमेश्वर प्रकट गराउनुहुन्छ। महिमाको रूपमा, येशूले इस्राएलको लागि परमेश्वरको प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ। येशूमा, परमेश्वरको आशा यहूदी र अन्यजाति दुवैमा फैलिएको छ।
प्रश्न: यसपालिको क्रिसमसमा तपाईं के आशा गर्दै हुनुहुन्छ?
ख्रीष्टियन आशा भनेको परमेश्वरको प्रतिज्ञामा भरोसा गर्नु, उहाँको कामको हेरचाह गर्नु र येशूमा परमेश्वरको प्रतिज्ञाको पूर्तिलाई पहिचान गर्नु हो। यो कुनै निजी आशा होइन, तर सबै मानिसहरूमा बाँड्नको लागि हो।







Amen 🙏