आनन्द (लूका २:१०-११) क्रिसमस सन्देश १
Joy (Luke 2:10-11) Christmas Message I
तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।”
१. आनन्दको घोषणा — सबै मानिसहरूको लागि
येशू जन्मनुभन्दा पहिले यहूदीहरूले मसीहको प्रतीक्षा कति समयदेखि गरिरहेका थिए?
यदि हामीले पुरानो करारको अन्तिम पुस्तकलाई हेर्यौं भने, मलाकीले आउँदै गरेको सन्देशवाहक, बप्तिस्मा दिने यूहन्ना, जसले परमप्रभुको मार्ग तयार पार्नेछन्, र आउँदै गरेको “परमप्रभुको दिन” को बारेमा भविष्यवाणी गरेका थिए। यो भविष्यवाणी येशूको जन्मभन्दा लगभग ४०० वर्ष अगाडिको हो। व्यवस्था १८:१५ मा मोशा जस्तै अगमवक्ताको भविष्यवाणी छ, र विशेष गरी यशैया ७:१४, यशैया ९:६-७, र मीका ५:२ मा बेथलेहेमका शासकको भविष्यवाणी छ। यदि हामीले उत्पत्ति ३:१५ (“स्त्रीको सन्तान”) लाई हेर्यौं भने, हामी यो निष्कर्षमा पुग्न सक्छौं कि यहूदीहरूको पर्खाइ लगभग सुरुदेखि नै थियो। तर यदि हामीले दाऊदको करार (२ शमूएल ७:१२-१६) बाट सुरु भएको मसीहको औपचारिक अपेक्षालाई विचार गर्यौं भने, जब परमेश्वरले दाऊदलाई सधैंभरि शासन गर्ने वंशजको प्रतिज्ञा गर्नुभयो, त्यो लगभग १००० ईसा पूर्व (B.C.) थियो। यसको अर्थ येशूको जन्मको लागि यहूदीहरूले लगभग १,००० मसीहको प्रतीक्षा गरिरहेका थिए।
यी दुई पदहरूमा स्वर्गदूतले के घोषणा गरे हेरौं।
स्वर्गदूतले मसीहको आगमनको भविष्यसूचक अपेक्षाको पूर्तिको सही समय घोषणा गर्दैछन्। भविष्यवाणी र पर्खाइको लगभग १,००० वर्ष पछि, पूर्तिको सही समय घोषणा गरिएको छ। र लूका भन्छन् कि इतिहासमा यो महान् घटनाको बारेमा थाहा पाउने पहिलो मानिसहरू लेवी पुजारीहरू, शास्त्रीहरू, सदुकीहरू, फरिसीहरू वा यहूदी अभिजात वर्गका मानिसहरू थिएनन्, तर गोठालाहरू थिए। किन यस्तो भयो होला? स्वर्गदूतले के घोषणा गरे हेरौं? “सबै मानिसहरूका लागि बड़ो आनन्दको सुसमाचार।” स्वर्गदूतले यहूदीहरूको लागि आनन्द भनेनन्, तर सबैको लागि आनन्द भन्छन्। ख्रीष्टको जन्मले सबैलाई आनन्द दिन्छ। तर आनन्द भनेको के हो?
ग्रिक भाषामा यो “खारा” (Χαρά) हो। नयाँ नियममा अर्को यस्तै शब्द छ “ख्यारिस” (χάρις) जुन प्रायः “अनुग्रह” भनेर अनुवाद गरिन्छ। तसर्थ आनन्द र अनुग्रह सम्बन्धित छन्। आनन्द र अनुग्रह दुवै परमेश्वोरबाट आउँछन्। र हामीले भन्नसक्छौँ कि साचो आनन्द परमेश्वोरको अनुग्रहबाट आउँछ। यो आनन्द हाम्रो राम्रो परिस्थितिमा आधारित होइन तर परमेश्वोरमा निर्भर छ। मुक्तिदाताको आगमन नै साँचो आनन्द हो। यदि हामीले परिस्थितिलाई हेर्ने हो भने, वास्तवमा, येशूको जन्म वरपरको परिस्थिति अनुकूल थिएन। “यहूदीहरूका राजा” को जन्मको बारेमा थाहा पाएपछि हेरोद राजाले दुई वर्ष मुनिका सबै बालकहरूको नरसंहार गर्ने आदेश दिए।
त्यसोभए, यो आनन्द के को लागि वा के बारेमा होला?
यो आनन्द परमेश्वरको हो र परमेश्वरबाट नै आउँछ। आनन्द भनेको परमेश्वरको पहल हो; उहाँले दिनुहुन्छ र हामी प्राप्त गर्छौं। ध्यानपूर्वक पढ्नुहोस्; पदले “आनन्द गर” वा “आनन्दका साथ ग्रहण गर्नु” भनेको छैन। अनि यो सुसमाचारले आनन्द हुने वा ल्याउने भनेको छैन। यसले भन्छ, “म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु।” यो “आनन्दको सुसमाचार” हो। यो समाचार आफैंमा आनन्ददायी छ। सरल भाषामा भन्नुपर्दा, येशूको जन्म आनन्द हो। येशूको जन्मको अर्थ संसारमा स्थायी रूपमा अब आनन्द प्रवेश गरेको छ भन्नु हो। संसारभरि हेर्नुहोस् र तपाईंले आनन्द महसुस गर्ने कुनै कारण पाउनुहुनेछैन। युद्ध, राजनीतिक उथलपुथल, सामाजिक असन्तुलन, आर्थिक अनिश्चितता र आर्थिक असमानता संसारभरि नै छ। तैपनि येशूमा, हामी ठूलो आनन्दको शुभ समाचार पाउँछौं, किनभने उहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा पुनर्स्थापित गर्न आउनुभएको छ: परमेश्वरसँगको हाम्रो सम्बन्ध। येशू परमेश्वर पितासँगको हाम्रो टुटेको सम्बन्ध पुनर्स्थापित गर्न र यसलाई थप क्षति पुर्याउनबाट बचाउन आउनुभएको छ। जब हाम्रो सम्बन्ध परमेश्वरसँग सही हुन्छ, अरू सबै कुरा ठीक ठाउँमा पर्छ। यो नै साँचो आनन्दको सुसमाचार हो।
पाठ: येशू हाम्रो आनन्दको कारण हुनुहुन्छ, हाम्रो राम्रो परिस्थिति होइन।
२. आनन्दको अनुभव — परमेश्वरको उपस्थितिमा
(भजनसंग्रह १६:११, यूहन्ना १५:११)
साँचो आनन्द भावनात्मक प्रचार वा प्रवृत्ति (emotional hype) होइन; यो ख्रीष्टसँगको घनिष्ठ सम्बन्धबाट बग्छ। येशू भन्नुहुन्छ कि उहाँको आनन्द हामीमा हुन सक्छ। यो वास्तविक, स्थिर र पूर्ण हुन्छ। “इम्मानुएल” को अर्थ “परमेश्वर हामीसँग” हो। परमेश्वर हामीसँग हुनुहुन्छ, तर के तपाईं उहाँसँग हुनुहुन्छ? किन हामी परमेश्वरसँगको हाम्रो निकटतालाई नवीकरण नगर्ने?
पाठ: आनन्द एक क्षणमा होइन तर लामो सम्बन्धमा पाइन्छ।
३. आनन्दले बलियो बनाउँछ — लामो यात्राको लागि
(नहेम्याह ८:१०, हबकूक ३:१७-१८)
परमेश्वरको आनन्दले पर्खाइ, अनिश्चितता र संघर्षको समयमा बल दिन्छ। हबक्कूक आफ्नो वरिपरि केही आशा नदेख्दा पनि आनन्दित हुन्छन्। परमप्रभुको आनन्द स्थिर छ, जो उहाँको विश्वासयोग्यतामा गडिएको छ।
पाठ: परमप्रभुको आनन्द आजको लागि हाम्रो बल र भोलिको लागि हाम्रो आशा हो।
यो क्रिसमसमा तपाईं यो आनन्दको खबर कसलाई सुनाउनु हुन्छ?


