क्रिसमस आयो!
Christmas Is Here!
क्रिसमस आयो!
अब चर्चहरूमा धेरै चहल-पहल हुन्छ।
इस्टरमा तेती चहल-पहल नहोला। काठमाडौंमा पहिले इस्टरको र्याली हुन्थ्यो, तर त्यो पनि अब्ब बिस्तारै निषेधित गर्निने होला। “असल शुक्रबार” मा त चर्चमा तेती केहि हुँदैन, धेरैमा बेलुकीको संगति हुन्छ। तर जे भए पनि क्रिसमस जतिको चहल-पहल चाहिँ यी दिनहरूमा हुँदैनन्। पेन्तेकोसको दिनमा त झनै केहि हुँदैन।
नेपालमा त क्रिसमसको दिनलाई क्रिश्चियनहरूले “बडा दिन” पनि भन्छन्। धेरै क्रिश्चियनहरूको लागि त यो दिन “दशैं” जतिकै पनि भएकोछ। यो दिनमा “दशैं” मा जस्तै गरि मीठो खाने, राम्रो लुगा लगाउने, चर्चमा गएर रमाइलो गर्ने दिन भएकोछ। उत्सव मनाउनुमा केही गलत छैन। मुक्तिदाताको जन्मोत्सव मनाउनुमा केही गलत छैन, तर उनीहरूले क्रिसमसको अर्थ बिर्सेका छन्, क्रिसमस मनाउनु पछाडीको कारण बिर्सेका छन्।
अब ती दिनहरू चाँडै नजिकिँदैछन् जब नेपाली क्रिश्चियनहरूको आउँदो पुस्ताले क्रिसमसलाई केवल एक सांस्कृतिक पर्वको रूपमा मात्र हेर्नेछन्। हामी आज हाम्रा चर्चहरूमा पनि यस्तै संकेतहरू देखिरहेका छौं। धेरै क्रिश्चियन युवाहरूलाई थाहा छैन कि तिनीहरू किन चर्च जान्छन्। दुःखको कुरा, उनीहरूले या त त्यो कुरा बिर्सेका छन् वा कहिल्यै आफ्नो विश्वासको वास्तविक कारण सिकेकाछैनन्।
केही आमाबाबुले आफ्ना छोराछोरीहरूलाई बाइबलीय सत्य सिकाउन बेवास्ता गरेका छन्। अरूले त आफ्नै गवाही पनि आफ्ना छोराछोरीहरूसँग बाँडेका छैनन्। फलस्वरूप, यी युवा “क्रिश्चियनहरू” लाई आफ्ना आमाबाबुको विश्वासको बारेमा थोरै मात्र थाहा छ, आफ्नै विश्वासको कुरा त परको कुरा भो। उनीहरूलाई थाहा छैन कि उनीहरू चर्च किन जान्छन्। उनीहरूलाई थाहा छैन कि येशू को हुनुहुन्छ। उनीहरूले बुझ्दैनन् कि येशूले के गर्नुभयो वा येशू दुई हजार वर्ष अघि किन जन्मनुभयो। उनीहरूलाई थाहा भएको कुरा के हो भने क्रिसमस एउटा “क्रिश्चियन” उत्सव हो, र उनीहरूका आमाबाबुले उनीहरूलाई चर्चमा लागेकाछन् र उनीहरूले आफूलाई “क्रिश्चियन” भनेर भनेको कारणले उनीहरू यस उत्सवमा भाग लिन्छन्।
आज केही नेपाली चर्चहरूलाई हेर्नुभयो भने, उनीहरू आगामी क्रिसमस कार्यक्रमको तयारी र योजनामा व्यस्त छन्। अनि यो असल कुरा हो। तर यसैबीच, उनीहरूले आफ्नो दैनिक जीवनमा येशूसँगको आफ्नो सम्बन्धलाई बेवास्ता गरिरहेकाछन्। उनीहरू बाइबल पनि पढ्दैनन्, अध्ययन गर्नु त परको कुरा। उनीहरू चर्च जान्छन्, तर प्रवचन सुन्दैनन्। प्रवचन सुने पनि त्यो अनुसार जिउँदैनन्। उनीहरूको लागि चर्च जानु एउटा सामाजिक काम मात्र भएको छ — एउटा “क्रिश्चियन” ले गर्नुपर्ने कुरा। उनीहरूले आफ्नो सोच्ने तरिका, जीवन शैली, व्यापार गर्ने तरिका, अरूसँगको व्यवहार, वा बोल्ने तरिका पनि परिवर्तन गरेका छैनन्। शनिबार मन्दिरको साटो चर्च जाने बाहेक अरू केही परिवर्तन उनीहरूको जीवनमा भएको छैन। हुनु उही फोहोर शरीर हो, खालि बाहिरि लुगा मात्र फरक छ।
उनीहरूले परमेश्वरको आराधना बाइबलीय रूपमा कसरी गर्ने भनेर पनि सिकेका छैनन्। उनीहरू दाऊदले गरेझैं परमेश्वरको आराधना गर्दैनन्। जब उनीहरू “उपासना” गर्छन्, उनीहरूले अन्ततः आफैंमा ध्यान केन्द्रित गर्छन्। चर्च सेवामा सँगी विश्वासीहरूले चढाउने “प्रशंसाका प्रार्थनाहरू” को समयमा तपाईंले यो याद गर्नुभएको हुनपर्छ। उनीहरूका शब्दहरूले परमेश्वरको बारेमा थोरै, र कहिलेकाहीं केही पनि बोल्दैनन्, तर आफ्नै बारेमा धेरै कुरा भन्छन्। उनीहरूको प्रार्थना यस्तो हुन्छन्, “परमेश्वर, मलाई जीवन दिनुभएकोमा, मलाई बचाउनुभएकोमा, मेरा पापहरू क्षमा गर्नुभएकोमा, मलाई आशीर्वाद दिनुभएकोमा, मलाई स्वतन्त्रता दिनुभएकोमा धन्यवाद,” आदि इत्यादि। ध्यान दिनुहोस् कि उनीहरूको “प्रशंसा” परमेश्वरमा भन्दा आफैंमा बढी केन्द्रित छ -- “मलाई…”।
यसबाहेक, उनीहरूको जीवन अपरिवर्तित छ। उनीहरू अझै पनि ठगी गर्छन्, फाइदा उठाउन प्रणालीहरूमा कमजोरीहरू खोज्छन्, आफूले चाहेको कुरा प्राप्त गर्न झूट बोल्छन्, र त्यसपछि परमेश्वरले यस प्रक्रियामा उनीहरूलाई “आशीष” दिनुभएको छ भनी घमण्ड गर्छन्। कसैले एक पटक चर्चमा भन्नुभयो कि उनले सरकारबाट आर्थिक सहयोग पाएका थिए किनभने उनले सरकारलाई आम्दानी धेरै कम घोषित गरेका थिए। तर त्यही व्यक्तिले आम्दानीका अन्य स्रोतहरू लुकाएको स्वीकार गरे। यसलाई कसरी आशीष मान्न सकिन्छ? के यो पवित्र आत्मालाई झूट बोलेको होइन र?
त्यसोभए, “क्रिसमस” मनाउन हतार गर्नु अघि हामीले पहिले आफ्नो जीवनको जाँच गर्नु र आफ्नो जीवन व्यवस्थित गर्नु उचित हुन्छ। क्रिसमसको भोजमा के खाने, कुन कपडा लगाउने, कस्तो कार्यक्रम गर्ने योजना बनाउनु अघि, हामीले पहिले क्रिसमसको अर्थ र उद्देश्य सिक्नु पर्छ। त्यसपछि हामी क्रिसमसको उत्सवलाई कसरी अझ फलदायी र अर्थपूर्ण बनाउन सक्छौं भनेर सोच्न सक्छौं।
यस पटक “क्रिसमस” हामी आत्मा र सत्यतामा कसरी मनाउन सक्छौं?




