गीत बिनाको चर्च सेवा कस्तो होला?
A Church Service Without Songs
गीत नगाउने आराधना सेवा कस्तो होला? कल्पना गर्नुहोस्। यदि आज चर्चहरूमा गीत गाउन रोक्ने हो भने ती चर्चहरूमा जानेहरुको संख्या घट्नेछ, विशेष गरी जवानहरूको। किन? किनभने धेरै ख्रीष्टियनहरूको लागि, संगीत मुख्य आकर्षण बनेको छ।
मैले एक पटक गीत नगाउने चर्च सेवा सुरु गर्ने प्रयास गरेको थिएँ, र यो चुनौतीपूर्ण थियो। मानिसहरूलाई असहज महसुस भयो, र यो एक संघर्ष थियो। म सायद चर्च नगएका मानिसहरूको लागि गीत बिना सेवा सुरु गर्न सक्थें होला, तर चर्चसँग पहिले नै परिचित भएकाहरूसँग, यो धेरै गाह्रो थियो। हाम्रो चर्चको पहिलो वर्षमा, हामीले केवल तीन गीतहरू गायौं: सुरुमा एउटा, भजनसंग्रह पढेपछि एउटा, र वचन पछि एउटा। दोस्रो वर्षमा, मैले सुरुमा थप दुई गीतहरू थपे। यसो गर्नुको पछि मेरो कारणहरू छन्, जुन म अर्को लेखमा व्याख्या गर्नेछु। तैपनि, मेरो अनुभवले मलाई एउटा गहिरो प्रश्न सोध्न प्रेरित गर्यो: हाम्रा संगतिहरूमा गीत गाउनु किन यस्तो आवश्यक वा अनिवार्य छ?
गायनलाई आराधनाको केन्द्रबिन्दुको रूपमा लिने प्रवृत्ति बढ्दो देखिन्छ, मानौं शनिबारको सेवा गीत बिना हुनै सक्दैन। वास्तवमा, यदि गीतहरू नभएको भए, धेरैजसो सेवाहरू एक घण्टा भन्दा कम समय हुने थिए। धेरैलाई, त्यो संगतिको समय अपूर्ण लाग्ने थियो वचन प्रचार, प्रार्थना र बाइबल पढाइ भएता पनि। तर के गीत, गायन, वा संगीतमा यो जोड साँच्चै बाइबलीय छ?
बाइबलले गीत वा संगीत बारेमा निश्चनै कुरा गर्छ। गीतहरूमा समर्पित भजनहरूको एउटा सम्पूर्ण पुस्तक नै छ जसलाई हामी भजनसंग्रह भन्छौं। विलापको पुस्तक काव्यात्मक विलापहरूको संकलनको रूपमा लेखिएको छ, धेरैजसो एक्रोस्टिक भजनको रूपमा (प्रत्येक पद क्रमिक हिब्रू अक्षरहरूबाट सुरु हुन्छ)। यी यरूशलेमको विनाशको लागि अन्त्येष्टि भजनहरू जस्तै संरचित छन्। वास्तवमा, बाइबलमा धेरै धेरै गीतहरू र गीतको ढाँचामा लेखिएका अंशहरू छन्। अय्यूबको धेरैजसो भाग काव्यात्मक रूपमा लेखिएको छ, जस्तै विलाप, मन्तब्य र प्रशंसाका कविताहरूको श्रृंखला, यद्यपि संगीतमय अर्थमा “गीतहरू” होइनन्, तिनीहरूको संरचना भजन जस्तै छ। एफिसी ५:१९, कलस्सी ३:१६, र याकूब ५:१३ जस्ता पदहरूले पनि विश्वासीहरूलाई भजन (Psalms), भजन (hymns) र आध्यात्मिक (spiritual) गीतहरू गाउन प्रोत्साहित गर्छन्। यसबाहेक, गायन प्रारम्भिक यहूदी ख्रीष्टियनहरूको सामुदायिक जीवनको हिस्सा थियो र अझै पनि प्रशंसा र धन्यवाद व्यक्त गर्ने यो अर्थपूर्ण तरिका हो।
तर यहाँ महत्वपूर्ण बुँदा छ, बाइबलले गायनलाई प्रोत्साहन दिए पनि, यसले यसलाई कहिल्यै पनि आराधनाको प्राथमिक विधिमा (ordinance) उचाल्दैन। गायन एउटा उपकरण (tool) हो, मुख्य कुरा (main thing) होइन। दुर्भाग्यवश, धेरै आधुनिक सन्दर्भहरूमा, यो उपकरण केन्द्रबिन्दु बनेको छ। हामीलाई “परमेश्वरको स्तुति गाउन” वा “गाउँदै परमेश्वरको प्रशंसा गर्न” भन्ने पदहरू प्रायः गायन वा गीत आफैंमा कुनै न कुनै रूपमा ईश्वरीय (divine, holy) हो भनेर संकेत गर्छ वा गीत गाउनु आराधना गर्नु बराबर हो जस्तो लाग्छ।
परमेश्वरको प्रशंसा गाउनु (गीत मार्फत उहाँका कामहरू घोषणा गर्नु) र गाउनु नै परमेश्वरलाई सबैभन्दा बढी प्रसन्न पार्ने कार्य हो भन्ने सोच्नुमा भिन्नता छ। बाइबलले हामीलाई सबै कुरामा परमेश्वरको महिमा गर्न आह्वान गर्दछ:
“यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१)
“कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।” (कलस्सी ३:१७)
“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” (मत्ती ५:१६)
परमेश्वरको आराधना भनेको गीतहरूमा मात्र सीमित छैन। यसमा प्रार्थना, परमेश्वरको वचनको पठन र शिक्षा, आज्ञाकारिता र दैनिक जीवनयापन समावेश छ। गीत परमेश्वरको महिमा गर्ने एक तरिका मात्र हो, यो एक मात्र तरिका होइन। म यहाँसम्म पनि सुझाव दिन्छु कि गीतहरू शनिबारको आराधना सेवामा आवश्यक छैन। यदि तपाईं गाउन चाहनुहुन्छ भने, सेवाको अघि वा पछि त्यसो गर्नुहोस्। यदि तपाईंले यसो गर्ने प्रयास गर्नुभयो भने, तपाईंले सम्भवतः थोरैले मात्र शनिबारको आराधना सेवामा भाग लिएको पाउनुहुनेछ, किनभने उनीहरूको उद्देश्य कहिल्यै पनि गीतहरू द्वारा परमेश्वरको आराधना गर्ने थिएन। धेरैका लागि, गीत गाउनु भनेको परमेश्वरको आराधना गरिरहेको छु भन्ने मात्र महसुस गर्ने एउटा तरिका हो। यस अर्थमा, गीतहरूले प्रायः परमेश्वरको सेवा गर्नुभन्दा त्यो गीत गाउनेको बढी सेवा गर्छ।
यो मनोवृत्ति गीत रिहर्सलको (rehearsal) कुरा आउँदा स्पष्ट हुन्छ। गीतहरू मार्फत परमेश्वरको प्रशंसा गर्न मन पराउने धेरै ख्रीष्टियनहरू घरमा र चर्चको अभ्यासमा विरलै भाग लिन्छन्। यदि गीत रिहर्सलको लागि आमन्त्रित गरियो भने, उनीहरू प्रायः अस्वीकार गर्छन् वा बहाना गर्छन्। आफ्नो बचाउमा, उनीहरू तर्क गर्न सक्छन् कि परमेश्वरको प्रशंसा गर्न, व्यक्तिलाई “प्रोफेसनल” गायक हुनु आवश्यक छैन, तर सबैभन्दा महत्त्वपूर्ण कुरा आराधनाको लागि हृदय हो भनेर। यद्यपि, यदि त्यो सत्यमा विश्वास गरेको भए, किन यी विश्वासीहरू नै आफ्ना आवाज सुधार गर्न वा आफ्ना गीतहरू मार्फत परमेश्वरको महिमा गर्न उचित प्रविधिहरू सिक्नमा समय खर्च गर्दैनन्?
दुःखको कुरा, धेरै चर्चहरूले संगीतलाई आराधनाका अन्य मुख्य तत्वहरूलाई ओझेलमा पार्न अनुमति दिएका छन्। गीतहरूको लागि थप समय बनाउन बाइबलबाट शिक्षा, प्रार्थना, धर्मशास्त्र पठन र चिन्तनलाई प्रायः छोटो समय वा किनारा लगाइन्छ। कतिपय अवस्थामा, चर्चको सुचनाहरूले पनि यी आवश्यक कुराहरू भन्दा बढी समय पाउँछन्। यो असंतुलनलाई सम्बोधन गर्न आवश्यक छ। गीतहरूलाई सेवाको केन्द्रबिन्दुको रूपमा होइन, हामीलाई परमेश्वरतिर औंल्याउने उपकरणको रूपमा प्रयोग गर्नुपर्छ। तिनीहरूले वचनको सेवा गर्नुपर्छ, यसलाई प्रतिस्थापन गर्नु हुँदैन। जब गीत आफैंमा लक्ष्य बन्छ, यसले आराधनालाई साँचो भक्तिको सट्टा प्रदर्शन वा भावनात्मक अनुभवमा परिणत गर्ने जोखिम हुन्छ।
गीतहरू परमेश्वरबाटको अद्भुत उपहार हुन्। यिनीहरूले हामीलाई सत्य व्यक्त गर्न, धन्यवाद दिन र चर्चलाई एकताबद्ध गर्न मद्दत गर्छन्। तर गीत गाउनु कुनै विधि होइन। बाइबलले विश्वासीहरूलाई प्रशंसा, धन्यवाद र शिक्षामा गाउन प्रोत्साहित गरे तापनि, यो ख्रीष्टद्वारा चर्चको लागि आवश्यक अनुष्ठानको रूपमा कहिल्यै स्थापित गरिएको थिएन। गीतहरू आराधनाको माध्यम हुन्, बप्तिस्मा वा प्रभुभोज जस्ता आज्ञा गरिएको विधि होइनन्। हाम्रो आराधनालाई बाइबलसँग पुन: मिलाउनुपर्छ। धर्मशास्त्र, प्रार्थना र संगतिले हामीलाई सबै कुराभन्दा माथि ख्रीष्टमा डोऱ्याउनपर्छ।


