शान्ति (लूका २:१४) क्रिसमस सन्देश २
Peace (Luke 2:14) Christmas Message II
लूका २:१४ “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!”
शान्तिको वास्तविक अर्थ के हो?
आज कसैलाई सोध्नुहोस् र तिनीहरूले भन्न सक्छन्:
“शान्ति तब हुन्छ जब जीवन राम्रो हुन्छ।”
“शान्ति तब हुन्छ जब युद्ध हुँदैन।”
“शान्ति तब हुन्छ जब न्याय, कल्याण र सद्भावको उपस्थिति हुन्छ।”
तर त्यस्तो शान्ति कमजोर हुन्छ। यो आउँछ र जान्छ। यो हाम्रो वरिपरिको सबै कुरा ठीक छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। र जुन क्षण केहि गलत हुन्छ, आर्थिक तनाव बढ्छ, सम्बन्धमा आँधीबेहरी आउँछ, वा आमूल परिर्वतन आउँछ, हाम्रो “शान्ति” हराउँछ।
त्यसोभए एउटा गहिरो प्रश्न सोधौं: परमेश्वरले शान्तिलाई कसरी परिभाषित गर्नुहुन्छ?
“परमेश्वरको शान्ति” को अर्थ
लूका २:१४ मा प्रयोग गरिएको ग्रीक शब्द εἰρήνη (eirēnē) हो। यसको अर्थ केवल “द्वन्द्वको अनुपस्थिति” मात्र होइन। यसको अर्थ पूर्णता, सम्पूर्णता, सबै कुरा पहिलेकै अवस्थामा पुनर्स्थापित गरिएको हो। कुनै चिरो नभएको वा नचर्केको माटोको भाँडो कल्पना गर्नुहोस्, वा यात्रुहरूले भरिएको बस जहाँ सिट खाली छैन, वा एउटा पजल (puzzle) जसको प्रत्येक टुक्रा ठिक ठाउँमा राखिएको। केही पनि भाँचिएको छैन, केही पनि अपुग छैन, केही पनि आफ्नो ठाउँबाट बाहिर छैन। त्यो बाइबल अनुसारको शान्ति हो।
यो शान्ति स्वर्गदूतहरूले घोषणा गरे: परमेश्वर भाँचिएको र टुक्रिएको कुरालाई पुनर्स्थापित गर्न र चकनाचूर र गाँस्न नसकिँने कुरालाई पूर्ण बनाउन आउनुभएको छ।
आज हामी यस शान्तिका तीन चालहरू हेर्नेछौं:
१. परमेश्वरबाट शान्ति
२. हामीमा शान्ति
३. हामी मार्फत शान्ति
१. परमेश्वरबाट शान्ति
लूका २:१४ स्वर्गदूतहरूले गोठालाहरूलाई गरेको घोषणाबाट निस्कन्छ:
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र तिनीहरूलाई शान्ति!”
स्वर्गदूतहरूले कुनै भावनाको वर्णन गरिरहेका छैनन्। तिनीहरू परमेश्वरबाटको उपहारको घोषणा गरिरहेका छन्। शान्ति कुनै उपलब्धि होइन। शान्ति हामीले निर्माण गर्ने कुरा होइन। शान्ति भनेको परमेश्वरले ल्याउने कुरा हो।
परमेश्वरले यो शान्ति कसरी ल्याउनुहुन्छ?
रोमी ५:१ ले हामीलाई स्पष्ट रूपमा बताउँछ, “यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।”
येशू ख्रीष्टले यो शान्ति आफूसँगै ल्याउनुहुन्छ। उहाँसँग यो शान्ति छ, र हामी उहाँमा यो पाउँछौं। वास्तवमा, येशू नै शान्ति हुनुहुन्छ (एफिसी २:१४)।
येशूले हामीलाई आन्तरिक शान्ति, वा सम्बन्धको शान्ति, वा संसारमा शान्ति दिनुभन्दा पहिले, उहाँले हामीलाई परमेश्वर पिता सँग शान्ति दिनुहुन्छ जुन सबैभन्दा आवश्यक शान्ति हो। पापले हामी र परमेश्वर बीचको बिछोड, दूरी, विच्छेदन सिर्जना गर्यो। तर येशूको आगमनले त्यो दूरीलाई कम गरेको छ।
यशैया ९:६ ले येशूलाई शान्तिको राजकुमार भन्छ, जो हामीलाई पितासँग मिलाप गराउन, मानिसले तोडेको कुरा पुनर्स्थापित गर्न, हामीलाई शान्तिको मानिसहरूमा पुनर्निर्माण गर्न आउनुहुन्छ।
हामीले उहाँबाट शान्ति खोज्नुभन्दा पहिले नै परमेश्वरले हामीलाई शान्ति दिनुभएको छ।
२. हामीमा शान्ति
जब हामी परमेश्वरसँग शान्तिमा हुन्छौं, उहाँले हामी भित्र पनि शान्ति दिनुहुन्छ।
परमेश्वरको शान्ति परिस्थितिजन्य शान्ति होइन। येशूले हाम्रो जीवन आँधी रहित हुनेछ भन्ने प्रतिज्ञा कहिल्यै गर्नुभएन। परमेश्वर अनन्त हुनुभएकोले, उहाँले दिनुहुने शान्ति अस्थायी होइन। यो कमजोर छैन। यो “राम्रो” कुराहरूमा निर्भर छैन। यो हाम्रो वरीपरि राम्रो भइरहेको कुराहरूमा पनि निर्भर छैन।
मर्कूस ४:३५-४१ मा येशूले आँधीलाई शान्त पार्नुभएको कुरा हेरौं।
तर येशू डुङ्को एक छेउमा सुतिरहनुभएको हुन्छ। चेलाहरू आत्तिन्छन्। किन? के उनीहरू एक्लै थिएर? के येशू त्यहाँ थिएनन् र? तर उनीहरू डराउँछन् किनभने तिनीहरू मुक्तिदाताको सट्टो आँधीलाई हेरिरहेका थिए। उनीहरू समस्यामा ध्यान दिन्छन् र येशू त्यहाँ भएता पनि उनीहरू विचलित हुन्छन्। तर तिनीहरू येशूतिर फर्केपछि, उहाँलाई पुकारेपछि मात्र उनीहरूले उद्धार पाउँछन्। येशू उभिनुहुन्छ र आँधीलाई आदेश दिनुहुन्छ, “शान्त हो! रोकिजा!” आँधीले आज्ञा पालन गर्छ। सृष्टिले सुन्छ। र चेलाहरूको पनि हृदय शान्त हुन्छ।
पाठ: शान्ति भनेको आँधीबेहरीको अनुपस्थिति होइन; आँधीबेहरी भएतापनि त्यहाँ येशूको उपस्थिति हुनु हो। येशू हाम्रो साथमा हुनु नै शान्ति हो।
येशू आफैं परम शान्तिदाता हुनुहुन्छ। एफिसी २:१५-१७ ले भन्छ कि उहाँले “शान्ति गर्नुहुन्छ” र शान्तिको घोषणा गर्नुहुन्छ। कलस्सी १:२० ले भन्छ कि उहाँले “उहाँको क्रूसको रगतद्वारा शान्ति गराएर” सबै कुरा परमेश्वरसँग मिलाप गराउनु हुन्छ। र यूहन्ना १४:२७ मा, येशूले प्रतिज्ञा गर्नुहुन्छ, “मेरो शान्ति म तिमीहरूलाई दिन्छु ... संसारले दिने जस्तो होइन।”
सांसारिक शान्ति उथले/नगहिरो (shallow), अस्थायी (temporary), र आराममा (comfort) निर्भर हुन्छ। तर ख्रीष्टको शान्ति पवित्र (holy), अनन्त (eternal), र अटल (steadfast) छ। पावलले फिलिप्पी ४:७ मा भनेका छन् कि परमेश्वरको शान्तिले “तिमीहरूको हृदयको रक्षा गर्नेछ।” यसले एक सिपाहीले जस्तै तपाईंको चिन्तित विचारहरूको रक्षा गर्ने काम गर्छ।
त्यसैले म तपाईंलाई सोध्न चाहन्छु:
के येशूले “शान्त हो! रोकिजा!” भन्नु भएको कुरा तपाईंलाई कहाँ सुन्न आवश्यक छ?
के तपाईंले आफ्नो डर उहाँलाई सुम्पनुभएको छ?
के परमेश्वरको शान्तिले तपाईंको हृदयको रक्षा गरिरहेको छ, वा तपाईं अझै पनि आँधीबेहरीमा अरूकतै मद्दत खोज्दै हुनुहुन्छ?
३. हामी मार्फत शान्ति
परमेश्वरको शान्ति हामीमा समाप्त हुँदैन। यो हामी मार्फत अरूहारूमा सर्छ।
मत्ती ५:९ ले भन्छ, “धन्य शान्ति स्थापना गर्नेहरू, किनभने तिनीहरू परमेश्वरका पुत्र कहलाइनेछन्।” ध्यान दिनुहोस्, येशूले “शान्ति कायम गर्नेहरू” भन्नुभएन—जो द्वन्द्वबाट टाढा रहन्छन् र आशा गर्छन् कि समस्याहरू हट्नेछन्। उहाँले शान्ति स्थापना गर्नेहरू भन्नुभयो। यो केवल आशिष मात्र होइन; यो एउटा मिशन हो, जीवनको एउटा तरिका हो।
उही येशू जसले हामीलाई परमेश्वरसँग शान्ति ल्याउनुभयो, उहाँले अब हामीलाई अरूलाई उहाँको शान्ति ल्याउन पठाउनुहुन्छ।
चोट लागेको ठाउँमा क्षमा गर्नु
रिसको सट्टा नम्रता रोज्नु
तनाव भएको ठाउँमा सुन्नु
थाकेकाहरूलाई प्रोत्साहन गर्नु
अराजकता भएको ठाउँमा शान्ति ल्याउनु
अरूले द्वन्द्व मात्र देख्दा ख्रीष्टलाई प्रतिबिम्बित गर्नु
स्वर्गदूतहरूले घोषणा गरे:
“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा शान्ति...”
यस क्रिसमसमा, त्यो शान्ति ग्रहण गर्नुहोस् र अरूहारूमा बाड्नुहोस्।



