के तपाईंले क्रिश्चियनहरूले यस्ता वाक्यांशहरू (प्रार्थना गर्दा वा वचन प्रचार गर्दा) प्रयोग गरेको सुन्नुभएको छ: “हामीलाई रगतले धुनुहोस्, रगतको घेरामा राख्नुहोस्, वा रगतमा डुबाउनुहोस्?”
बाइबलमा हामीले येशूको रगतले विश्वासीहरूलाई "धुन", "घेरामा राख्न", वा "डुबाउन" भन्ने कुनै पनि पद पाउँदैनौं।
बाइबलले हामीलाई बताउँछ कि परमेश्वरले हामीलाई घेर्न आफ्ना स्वर्गदूतहरू पठाउन सक्नुहुन्छ (भजनसंग्रह ९१:११, हिब्रू १:१४), तर उहाँको रगतले हामीलाई कहिल्यै घेर्नुहुन्न। पुरानो नियममा, हामी रगतको बारेमा धेरै सन्दर्भहरू देख्छौं, तर तिनीहरू प्रत्यक्ष रूपमा मन्दिरको भेटीहरूसँग सम्बन्धित छन् (लेवी ४, ५, ८, ९)।
त्यसो भए किन केही क्रिश्चियनहरूले यो शब्दावली प्रयोग गर्छन्?
पहिलो, किनभने उनीहरूले अरूले यो शब्दावली प्रयोग गरेको सुनेका छन्। दोस्रो, केही पदहरू छन् जसले येशूको रगतलाई संकेत गर्दछ। र तेस्रो, यी ईसाईहरूले ती पदहरू राम्ररी बुझेका छैनन् तर पनि प्रयोग गर्छन् किनभने यो नेपाली संस्कृतिमा मिलेको जस्तो देखिन्छ।
त्यसकारण, हामीले परमेश्वरको वचन कसरी प्रयोग गर्छौं भन्ने बारेमा धेरै होसियार हुनुपर्छ।
त्यसो भए बाइबलले के भन्छ?
पापको क्षमा र शुद्धीकरण
मत्ती २६:२८ – "किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ।"
एफिसी १:७ – "उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौ…"
१ यूहन्ना १:७ – "…उहाँको पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।”
प्रकाश १:५ – “…हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुनेलाई…”
सारांश: येशूको रगतले क्षमा, शुद्धीकरण र पापबाट मुक्ति ल्याउँछ।
परमेश्वरमा पहुँच र मेलमिलाप
रोमी ५:९ – "यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले…”
एफिसी २:१३ – "तर तिमीहरू, जो त्यस बेला ख्रीष्ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्टको रगतले नजिक भएका छौ।"
हिब्रू १०:१९ – "येशूको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ।"
सारांश: येशूको रगतले हामीलाई परमेश्वरसँग शान्ति र उहाँको उपस्थितिमा खुला पहुँच दिन्छ।
नयाँ करारलाई छाप लगाउने
हिब्रू ९:१४-१५ – “...ख्रीष्टको रगतले त झन् कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ…यसैकारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ…"
हिब्रू १३:२० – “...अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने…”
सारांश: येशूको रगतले नयाँ करारलाई छाप लगाउँछ र विवेकलाई शुद्ध पार्छ।
शैतानमाथि विजय
प्रकाश १२:११ – “तिनीहरूले थुमाको रगत र आफ्नो गवाहीको वचनद्वारा त्यसलाई जितेका छन्…”
सारांश: येशूको रगतले आत्मिक विजय दिन्छ, तर धार्मिक कार्यहरूद्वारा होइन — विश्वास र गवाहीद्वारा।
प्रकाश ७:१४ को गलत अर्थ वा बुझाई
“यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।"
कसै-कसैले यो पदलाई गलत बुझ्न सक्छन्। यो पदले हामीलाई हाम्रा लुगाहरू थुमाको रगतमा धुन भनेको छैन। यसले येशू ख्रीष्टको बलिदानको शुद्धीकरण शक्तिलाई जोड दिन्छ। यसले सिकाउँछ की मुक्ति र शुद्धता कर्महरूद्वारा कमाइँदैन तर येशूको रगतद्वारा आउँछ, जो उहाँको प्रायश्चित-मृत्युको प्रतीक हो। त्यसैले, क्रिश्चियनहरूले बारम्बार येशूको रगतमा आफूलाई धुनु पर्दैन। यो येशूले एक पटक र सधैंको लागि गरिसक्नुभएको छ।