आफूलाई ख्रीष्टियन भनाउने कोहीहरूले कसरी खुलेआम झूट बोल्न सक्छन् र छलमा आधारित जीवन बिताउन सक्छन् भन्ने कुरा देखेर म छक्क पर्छु।
यो कुरा विशेष गरी जब तपाईं विदेशमा बस्नुहुन्छ तब स्पष्ट हुन्छ। जब तपाईं यी “क्रिश्चियनहरू” लाई भेट्नुहुन्छ तब तपाईंले प्रत्यक्ष रूपमा देख्नुहुनेछ कि उनीहरुले कसरी वास्तविक जीवन बिताउँछन्। जब तपाईं कामको लागि वा बस्नको लागि विदेश जानुहुन्छ, क्रिश्चियन चर्च फेला पार्न प्रायः चुनौतीपूर्ण हुन्छ। तपाईं वरपरका मानिसहरूलाई सोध्नहुन्छ र सायद नेपालका साथीहरूलाई यदि उनीहरूलाई यस क्षेत्रमा कुनै चर्च वा क्रिश्चियनहरू थाहा छ भने। केही खोजी पछि, तपाईंले अन्ततः एउटा चर्च फेला पार्नुहुन्छ र जानुहुन्छ।
तर केही सदस्यहरूलाई भेटेर उनीहरूसँग कुराकानी गरेपछि, तपाईंलाई लाग्छ कि तपाईं किन एस्तो चर्चमा आउनुभो। उनीहरूले भनेको कुरा तपाईंको लागि निराशाजनक हुन्छ। उदाहरणका लागि, विदेशमा बस्ने धेरै नेपाली क्रिश्चियनहरू आइतबार वा सार्वजनिक बिदामा पनि चर्च जाँदैनन्। किन? किनभने आइतबार वा सार्वजनिक बिदाका दिनहरूमा उनीहरूले धेरै पैसा कमाउन सक्छन्। यी दिनहरूमा, व्यवसायहरूले सामान्यतया हप्ताको तुलनामा उच्च तलब दरहरू प्रदान गर्छन्, त्यसैले उनीहरू अरू क्रिश्चियनहरूसँग परमेश्वरको आराधना गर्नुको सट्टो काम गर्छन्।
हो, केही ख्रीष्टियनहरूको काम वा अफिस आइतबार खुला हुन्छ र अन्य दिनहरूमा बन्द हुन्छ। यद्यपि, म यहाँ त्यो कामको बारेमा कुरा गरिरहेको छैन। यी ख्रीष्टियनहरूसँग चर्च नजानुको (यद्यपि यो दु:खद भएपनि) वास्तविक कारण छ।
यद्यपि, जब तपाईंले वास्तवमा चर्च जाने ख्रीष्टियनहरू भेट्टाउनुहुन्छ, तपाईंले उनीहरूको जीवन बाइबलको विपरीत देख्नुहुन्छ।
उदाहरणका लागि, विद्यार्थी (student) वा दिपेनडेनट् (dependent) भिसा भएकाहरूलाई लिनुहोस्। यी भिसाहरूले सामान्यतया उनीहरूलाई प्रति हप्ता निश्चित समय काम गर्नलाई तोकेको हुन्छ। मानौं उनीहरूलाई हप्तामा २४ घण्टा काम गर्न अनुमति छ। तैपनि, धेरै जनाहरू ३० घण्टा वा सोभन्दा बढी काम गर्ने घमण्ड गर्छन् र थप जागिर खोज्नको लागि प्रार्थना पनि गर्छन्। के एस्तो प्रार्थनाको सुनवाई हुन्छ होला त?
अर्कोतर्फ, वैध कार्य (work) भिसा भएका कोही व्यक्तिहरूले बैंक लेनदेन मार्फत आफ्नो आम्दानी ट्र्याक (income track) नगर्नको लागि नगद भुक्तानी (hand cash) गर्ने काम खोज्छन्। दुःखको कुरा, कोहीको लागि, यो उनीहरूको प्रार्थना अनुरोधको केन्द्रबिन्दु बन्छ: “प्रभु, hand cash काम पाएको होस्।” के एस्तो प्रार्थनाको सुनवाई हुन्छ?
यी कस्तो किसिमका ख्रीष्टियनहरू हुन्? नियम तोडेकोमा (छल गरेकोमा) किन यति गर्व गर्छन्? उनीहरू आफ्नो विश्वासको बिपरित कसरी बाँच्न सक्छन्?
के बाइबलले हामीलाई कानून तोड्न वा बङ्ग्याउन सिकाउँछ? के केवल पक्राउ पर्नबाट बच्न लागि बाँच्न ख्रीष्टियनहरूको उद्देश्य हो?
त्यसोभए, यी “ख्रीष्टियनहरू” किन यसरी बाँचिरहेका छन्? के उनीहरूलाई कुनै लाज छैन?