राहाबले जासूसहरूलाई लुकाउँछिन्, आफ्नो विश्वासको घोषणा गर्छिन् र करार बाँध्छिन् (यहोशू २:१-१४)
Rahab hides spies, declares her faith and makes a covenant (Joshua 2:1-14)
२:१–७ राहाबले जासुसहरूलाई छानामाथि लुकाइन्
पद १ मा, यहोशूले शित्तीमबाट दुई जना जासुसलाई त्यो देश हेर्न, विशेष गरी यरीहो शहर हेर्न पठाउँछन्। यसले हामीलाई यहोशूको पहिलेको अनुभव सम्झाउँछ, जब मोशाले बाह्र जना जासुसलाई प्रतिज्ञा गरिएको देश हेर्न पठाएका थिए। यहोशूले किन आफ्ना जासुसहरू पठाए? उनी सिधै यरीहोमा गएर आक्रमण गर्न सक्थे। तर यहोशूले तयारीको महत्त्व प्रत्यक्ष रूपमा सिकेका थिए।
यहोशू केवल आत्मिक अगुवा मात्र थिएनन्, तर एक बुद्धिमान र सक्षम अगुवा पनि थिए। उनले बुझेका थिए कि विश्वासले योजना बनाउने वा तयारीको कुरालाई रद्ददैन, बरु त्यसलाई मार्गदर्शन गर्छ।
धेरैजसो ख्रीष्टियनहरूले तयारीको कुरालाई वा योजना बनाउनु आत्मिक होइन भन्ने सोच्छन्, मानौँ आत्माले अगुवाइ गर्नु भनेको केवल तत्कालिक रूपमा काम गर्नु हो। तर धर्मशास्त्रले हामीलाई फरक कुरा देखाउँछ। परमेश्वरले गर्नुहुने हरेक काम उद्देश्यपूर्ण हुन्छ, र उहाँका मानिसहरूले पनि सोचविचार र तयारीका साथ काम गर्छन्।
परमेश्वरमाथि भरोसा राखेर बनाइएको योजना विश्वासको अभाव होइन, बरु धेरैजसो अवस्थामा विश्वासको अभिव्यक्ति र प्रमाण हो। नूहले पानी पर्नको लागि पर्खेनन्, आत्माले कहिले अगुवाइगर्छन् भनेर कुरेनन्, उनले परमेश्वरको आज्ञा मानेर तयारी र योजनासाथ जहाज बनाए। त्यसरी नै मोशाले कनान देश जाँच्नगर्न बाह्र जना पठाएर योजना बनाए, र अब यहोशू पनि योजना बनाउँदैछन्।
ती दुई जासुसहरू शहरभित्र पस्छन् र राहाब नाम गरेकी एक वेश्याको घरमा बस्छन्। यसले तुरुन्तै एउटा प्रश्न उठाउँछ, परमेश्वरले किन यस्तो व्यक्तिलाई प्रयोग गर्नुहुन्छ?
यसको उत्तरले हामीलाई परमेश्वरको अनुग्रहको उदारता र महानता सम्झाउँछ। परमेश्वर हाम्रो सोच वा अपेक्षामा सीमित हुनुहुन्न। परमेश्वरले हृदय हेर्नुहुन्छ (१ शमूएल १६:७), र उहाँले जसलाई चाहनुहुन्छ, त्यसलाई छान्नुहुन्छ (रोमी ९:१८), प्रायः ती व्यक्तिहरूलाई पनि जसलाई हामी अपेक्षा गर्दैनौँ।
यरीहोकी एक अन्यजाति महिला राहाब पछि मत्तीको सुसमाचारमा येशूको वंशावलीमा समावेश गरिएकी छिन्। यो अत्यन्तै आश्चर्यजनक कुरा हो। पुरानो नियमको वंशावलीले सामान्यतया पुरुष वंशलाई जोड दिन्छ र प्रायः महिला र अरूलाई हटाउँछ जबसम्म तिनीहरू कथा वा कानुनी सन्दर्भको लागि महत्त्वपूर्ण हुँदैनन्। परमेश्वरले राहाब लाई प्रयोग मात्र गर्नुभएन, उहाँले उनलाई आदर पनि गर्नुभयो।
जब यरीहोका राजाले जासुसहरूको बारेमा सुन्छन्, उनले राहाबलाई ती मानिसहरूलाई बाहिर ल्याउन आदेश दिन्छन् (पद २)। तर राहाबले तिनीहरूलाई लुकाउँछिन् (पद ४) र राजाका मानिसहरूलाई झुक्याउँछिन् (पद ५), यसरी उनले ठूलो व्यक्तिगत जोखिम लिएर जासुसहरूलाई बचाउँछिन्। तर राहाबले यो निर्णय अकस्मात् वा एक्कासी गरिनन्। पद ६ ले देखाउँछ कि उनले सावधानीपूर्वक तिनीहरूलाई छानामाथि लुकाइन्। पद ७ सम्म आइपुग्दा, उनका कामहरूले जासुसहरूलाई उम्किने अवसर सिर्जना गरिसकेको थियो।
तर प्रश्न उठ्छ, राहाबले यस्तो किन गरिन्? उनले आफ्नै शत्रुहरूलाई किन सहयोग गरिन्?
यसको पुरा उत्तर पछि पद ९ देखि ११ मा पाइन्छ। राहाब भन्छिन्, “मलाई थाहा छ कि परमप्रभुले यो देश तिमीहरूलाई दिनुभएको छ… तिमीहरूको परमप्रभु परमेश्वर स्वर्ग माथि र पृथ्वी तलका परमेश्वर हुनुहुन्छ।” यो केवल रणनीति मात्र होइन, यो विश्वास हो। नयाँ करारले पनि यसलाई पुष्टि गर्छ। हिब्रू ११:३१ भन्छ, “विश्वासद्वारा राहाब…” याकूब २:२५ ले देखाउँछ कि उनको विश्वास कामद्वारा प्रमाणित भएको थियो।
यसले मलाई लूका १६ मा येशूले भन्नुभएको चतुर वा बेइमान व्यवस्थापकको दृष्टान्त यादगराउँछ। लामो समयसम्म त्यो दृष्टान्त बुझ्न गाह्रो थियो। येशूले किन यस्तो मानिसको प्रशंसा गर्नुभयो? तर उहाँले उसको बेइमानीको होइन, तर उसको तुरुन्त निर्णय गर्ने क्षमताको प्रशंसा गर्नुभयो। जब उनले के हुँदैछ भनेर महसुस गरे, उनले आफ्नो भविष्य सुरक्षित गर्न तुरुन्तै कदम चाले।
त्यसैगरी, राहाबले परमेश्वरले के गर्दै हुनुहुन्छ भनेर बुझिन् र तुरुन्तै निर्णय गरिन्। उनले आफूलाई परमेश्वर र उहाँका मानिसहरूको पक्षमा उभ्याइन्। राहाबले हेरिनन्, उनले प्रतिक्रिया दिइन्। उनले ढिला गरिनन्, उनले काम गरिन्। उनी निष्पक्ष बसिनन्, उनले एक पक्ष रोजिन्।
अब प्रश्न छ: जब तपाईं परमेश्वरले काम गरेको देख्नुहुन्छ, जब तपाईं उहाँले काम गरेको सुन्नुहुन्छ, तपाईं कसरी प्रतिक्रिया दिनुहुन्छ? के तपाईं राहाबझैँ छिटै काम गर्नुहुन्छ, वा डरले तपाईं रोकिनुहुन्छ?
२:८–१४ राहाबले आफ्नो विश्वास घोषणा गर्छिन् र जासुसहरूसँग करार गर्छिन्
अब हेरौँ, राहाबले किन यस्तो गरिन्।
पद ८ मा, राहाबले जासुसहरूलाई भन्छिन् कि उनलाई थाहा छ परमप्रभुले यो देश तिनीहरूलाई दिनुभएको छ। त्यति मात्र होइन, उनी भन्छिन् कि इस्राएलको डर र आतङ्क सबै बासिन्दाहरूमा फैलिएको छ (पद ९)। यो किन होला? किनकि परमेश्वरका कामहरूको खबर मिश्रदेशभन्दा धेरै टाढासम्म फैलिएको थियो। उनीहरूले सुनेका थिए कि परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकाल्दा लाल समुद्र सुकाउनुभयो, र सिहोन र ओग नाम गरेका एमोरी राजाहरूलाई पूर्ण रूपमा नाश गर्नुभयो (पद १०)। यी कुरा सुनेपछि तिनीहरूको हृदय पग्लियो र साहस हरायो। पहिले दस जना जासुसहरूले भनेका थिए, “हामी आफ्नै नजरमा फटेङ्ग्राजस्तै लाग्यो” (गन्ती १३:३३)। तर अब हामी देख्छौँ कि कनानका मानिसहरू पहिले नै डराएका थिए।
त्यसपछि पद ११ मा राहाबले एउटा अद्भुत कुराको स्वीकार गर्छिन्, “परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ।” कस्तो गवाही! यो केवल डर होइन, यो विश्वासको शुरुवात हो। कनानका राष्ट्रहरू धेरै देवी-देवताहरूलाई मान्ने बहुदेववादी थिए, तर राहाबले स्पष्ट रूपमा घोषणा गर्छिन् कि परमप्रभु मात्र साँचो परमेश्वर हुनुहुन्छ।
राहाबले विश्वासका साथ काम गरिन्। उनले केवल परमेश्वरले के गर्नुभएको थियो भन्ने सुनेकी थिइन्, तर त्यो नै उनको लागि पर्याप्त भयो आफ्नो जीवन जोखिममा राख्न। येशूले भन्नुभयो, जो कोही उहाँलाई पछ्याउन चाहन्छ, उसले उहाँलाई आफ्नो परिवारभन्दा र आफ्नै जीवनभन्दा पनि बढी प्रेम गर्नुपर्छ (लूका १४:२५–२७)। उहाँले यो पनि भन्नुभयो कि उहाँका अनुयायीहरूले सतावट भोग्नेछन् (यूहन्ना १५:२०; २ तिमोथी ३:१२)।
राहाबले व्यक्तिगत सुरक्षाभन्दा ठूलो, राष्ट्रिय निष्ठाभन्दा ठूलो, र आफ्नो विगतभन्दा ठूलो कुरा रोजिन्। उनले आफूलाई जीवित परमेश्वरसँग जोडिन्।
यसले हामीलाई चुनौती दिन्छ, किनकि सांसारिक कुराहरूमा निष्ठा प्रायः कमजोर र अस्थायी हुन्छ। हामी यो वरिपरि देख्छौँ। वर्षौँसम्म काम गरेका मानिसहरू पनि जागिरबाट निकालिन्छन्। हालै मेटा (Meta) कम्पनीले ८,००० कर्मचारी हटायो। कल्पना गर्नुहोस् त, त्यो कम्पनीका केही कामदारहरू कति समर्पित थिए होलान्? तर तपाईंले जति मेहनत गरे पनि, जति वर्ष काम गरे पनि, वा जति निष्ठावान भए पनि, संसारले स्थायी सुरक्षा दिन सक्दैन।
तर पनि धेरै मानिसहरू, ख्रीष्टियनहरू समेत, यिनै कुराहरूमा आफ्नो अन्तिम भरोसा राख्छन्। तर धर्मशास्त्रले हामीलाई स्पष्ट चेतावनी दिन्छ। १ यूहन्ना २:१५ मा लेखिएको छ, “संसारलाई वा संसारका कुराहरूलाई प्रेम नगर।”
राहाबले एउटा महत्त्वपूर्ण कुरा बुझिन्, जब परमेश्वरका उद्देश्यहरू स्पष्ट हुन्छन्, तब तटस्थ (neutral) बस्न सकिँदैन। तपाईंसँग एउटा मात्र विकल्प छ: परमेश्वर वा अरू। राहाबले परमेश्वरको पक्ष रोजिन्।
साथै, हामीले बुझ्नुपर्छ कि परमेश्वरलाई जासुसहरूलाई बचाउन राहाबको आवश्यकता थिएन। परमेश्वर सार्वभौम हुनुहुन्छ। उहाँले अरू कुनै पनि तरिकाले जासुसहरूलाई बचाउन सक्नुहुन्थ्यो। तर आफ्नो अनुग्रहमा, उहाँले राहाबलाई प्रयोग गर्नुभयो। जसरी पहिले बाह्र जना जासुसमध्ये दुई जनालाई प्रयोग गर्नुभयो, त्यसरी नै यहाँ एक अन्यजाति वेश्यालाई प्रयोग गर्नुभयो।
पद १२ मा, राहाबले दयाको कसम माग्छिन् र एउटा चिन्ह माग्छिन्। पद १३ मा, उनले आफ्नो सम्पूर्ण परिवारको जीवनको लागि बिन्ती गर्छिन्। पद १४ मा, जासुसहरूले सहमति जनाउँछन्, यदि उनले विश्वासयोग्य रहिन् भने, उनीहरू आफ्नै जीवन राखेर उनको परिवारको रक्षा गर्ने वाचा गर्छन्।
जब राहाबले विश्वासमा काम गरिन्, उनले केवल आफ्नो जीवन मात्र होइन, आफ्नो परिवारको जीवन पनि जोखिममा राखिन्। अझ महत्त्वपूर्ण कुरा, उनको विश्वासद्वारा उनलाई मात्र होइन, उनको परिवारलाई पनि बचाइयो। यही कारणले राहाबलाई विश्वासयोग्य भनिएको छ र उनको कामको प्रशंसा गरिएको छ।
राहाबको विश्वास परमेश्वरले गर्नुभएको काम सुनेर बढ्यो। परमेश्वरको विश्वसनीयता सम्झँदा तपाईंलाई उहाँमाथि भरोसा गर्न कसरी मद्दत गर्छ, विशेष गरी जब तपाईं र तपाईंको परिवारका लागि त्यो जोखिम हुन्छ?


