
१-२ ख्रीष्टको अनुग्रहमा बलियो हुने र उहाँको शिक्षा सिकाउन सक्नेहरूलाई जिम्मेवारी सुम्पने
पद १ मा, पावलले तिमोथीलाई भन्छन्, “यसकारण तिमी, मेरो बालक, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।”
तिमोथीलाई केही गर्न भन्नु अघि नै, पावलले तुरुन्तै तिमोथीलाई येशू ख्रीष्टमा पाइने अनुग्रहको बारेमा बताउँछन् जसले तिमोथीलाई बलियो बनाउन सक्छ।
किन तिमोथी बलियो हुनुपर्ने?
तिमोथी बलियो हुनुपर्छ किनभने उनले अहिले गर्नुपर्ने काम धेरै महत्त्वपूर्ण छ। तिमोथी बलियो हुनुपर्छ किनभने उनको युद्ध दुष्टता विरुद्ध हो। तिमोथी बलियो हुनुपर्छ किनभने उनले सिकाउन सक्ने विश्वासयोग्य मानिसहरू खोजने, र उनीहरूलाई सुसमाचार सुम्पने काम गर्नु थियो।
अनि यी कामहरू गर्न, तिमोथीलाई ख्रीष्टको शक्ति चाहिन्थियो जुन अनुग्रहबाट पाइन्छ। येशूको अनुग्रह नै शक्तिको स्रोत हो (२ तिमोथी २:१) र यो तिमोथीले गर्नुपर्ने काम को लागि पर्याप्त हुनेछ (२ कोरिन्थी १२:९)। पावललाई येशूको अनुग्रहको शक्ति थाहा छ। उनी भन्छन्, “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।” (फिलिप्पी ४:१३) तिमोथीलाई येशूको अनुग्रहको शक्ति चाहिन्छ किनभने येशूले भन्नुभएको कुरा पालना गर्न सजिलो छैन। येशू आफैले भन्नुभयो कि यदि हामी उहाँको चेला बन्न चाहन्छौं भने हामीले हाम्रो क्रूस उठाउनुपर्छ र उहाँलाई पछ्याउनु पर्छ (लूका ९:२३)। दुःख र कष्ट ख्रीष्टियनको जीवनको एक भाग हो। येशूले भन्नुभएको कुरा गर्न हामीलाई येशूको अनुग्रह चाहिन्छ।
येशूमा पाइने अनुग्रहको शक्तिको कुरा पछि, पद २ मा पावलले तिमोथीलाई एउटा जिम्मेवारी दिन्छन्: सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुसमाचार सुम्पने। पावल चाहन्छन् कि तिमोथीले यी विश्वासयोग्य मानिसहरूलाई खोजून् र हुर्काऊन्।
धेरै ख्रीष्टियनहरूले यो पदलाई ध्यान दिँदैनन्। यद्यपि यो पद केवल एउटा वाक्य हो, तर यसले धेरै वजन बोकेकोछ।
तिमोथीले पहिले विश्वासयोग्य मानिसहरू खोज्नु परियो जो दुबै सिक्न र सिकाउन सक्षम छन्। विश्वासयोग्य मानिसहरू मात्र खोजेर भएन। विश्वासयोग्य र सिक्न सक्ने मानिसहरू मात्र पनि हुनु भएन। तर विश्वासयोग्य मानिसहरू जसले सिक्न सक्छन् र अरुलाई पनि सिकाउन सक्छन्, यी सबै तिन गुण भएकै व्यक्तिहरु हुनुपर्यो।
यस प्रकारका मानिसहरू भेट्टाउन सजिलो होला कि गाह्रो?
लिडरहरूले चर्चमा आफ्नो प्रतिस्थापक कसरी खोज्छन्?
सन्दे स्कूलका शिक्षकहरूलाई कसरी खोज्छन्?
कुन मापदण्ड प्रयोग गर्छन्?
चर्चमा पास्टर, लिडर, शिक्षक, प्रचारक, संचालक, संगीत टोली, भेटि उठाउने र गन्ने, र अरु चर्चको काम गर्नेको छनौट गर्दा, तपाईं कुन मापदण्ड वा स्तर अनुसार खोज्नुहुन्छ?
विश्वासयोग्य मानिसहरू खोज्नु र त्यसपछि उनीहरूलाई वचन सिकाउनु सजिलो काम होइन। एस्ता मानिसहरू खोज्नु धेरै कठिन काम हो। त्यसैले तिमोथीलाई येशूको अनुग्रहको आवश्यकता छ।
१ तिमोथी १:१८ मा पावल तिमोथीलाई भन्छन्, “मेरो छोरो तिमोथी, म तिमीलाई यो आज्ञा दिँदैछु, कि तिम्रो सम्बन्धमा अघि कहिएको अगमवाणीअनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लड़ाइँ लड्न सक।”
पावलले तिमोथीलाई असल लड़ाइँ लड्न आह्वान गरिरहेका छन्। जो येशू ख्रीष्टको सुसमाचार फैलाउन र उहाँको राज्य निर्माण गर्न हो। तिमोथी एक सिपाही हुनुपर्छ।
प्र१. ख्रीष्टको शिक्षा तपाईं कसलाई सुम्पिँदै हुनुहुन्छ? ती सिकाउन सकिने विश्वायोग्य मानिसहरू को को हुन्?
३-७ सधैं असल सिपाही जस्तै लड्न तयार, खेलाडी जस्तै नियम अनुसार प्रतिस्पर्धा गर्न, र किसान जस्तै लगनशीलतापूर्वक रोप्न हुनुपर्ने
त्यसपछि, पद ३ मा पावलले तिमोथीलाई असल सिपाहीले जस्तै दुःखमा सहभागी हुन भन्छन्। पावलले भरपर्दो मानिसहरूको ३ उदाहरण दिन्छन् जो आफूभन्दा ठूलो कुरामा प्रतिबद्ध, विश्वायोग्य, र इमानदार छन्।
पहिले, एक सिपाही।
एक सिपाहीलाई शत्रुहरू विरुद्ध आफ्नो देशको रक्षा गर्ने जिम्मेवारी दिइएको हुन्छ। एक असल सिपाही नागरिकको गतिविधिमा अल्झँदैन, तर जे आज्ञा दिइएको छ त्यही गर्छ। उनी सधैं लड्न तयार हुन्छन्, र आवश्यक परेमा आफ्नो देशको लागि युद्धको मैदानमा मर्न पनि तयार हुन्छन्। उसको कर्तव्य भनेको आफ्नो भर्ती गर्नेको आदेश पूरा गर्नु हो।
दोस्रो, एक खेलाडी।
एक खेलाडीले रातदिन तालिम गर्छ र आफ्नो शरीरलाई प्रतियोगिताको लागि तयारी गर्छ। आफ्नो राष्ट्रको गौरव बढाउन जित्न प्रतिबद्ध हुन्छ। यदि एक खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा बोलाइयो भने उसले आफ्नो राष्ट्रिय प्रतियोगिताहरू छोड्छ किनभने उसको कर्तव्य आफ्नो देशको प्रतिनिधित्व गर्नु र जित्नु हो। तसरथ, जित्नको लागि उसले नियम अनुसार प्रतिस्पर्धा गर्छ।
तेस्रो, किसान।
एक किसान आफ्नो वरपरका मानिसहरूको जीविकोपार्जनको बारेमा चिन्तित हुन्छ। यद्यपि एक मेहनती किसानले बालीको पहिलो हिस्सा पाउनै पर्छ, तर उसको पहिलो चिन्ता भनेको आफ्ना मानिसहरू हुन्। उसले लगनशीलताका साथ रोप्छ, बढाउँछ र कटनी गर्छ। चाहे घाम होस् वा वर्षा, किसान सधैं काम गरिरहेको हुन्छ। आँधीबेहरी आउँदा पनि ऊ रोकिँदैन।
सबै ३ उदाहरणहरूमा, हामी देख्छौं कि उनीहरूको बल, प्रेरणा र उद्देश्य काम गरेर आउँदैन, तर उनीहरूलाई बोलाउने व्यक्तिबाट आउँछ: जसले उनीहरूलाई उद्देश्य दिन्छ। उनीहरूको शक्ति उनीहरूको मालिकबाट आउँछ। हाम्रो शक्ति हाम्रा मालिक येशूबाट आउँछ जो सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। विश्वासयोग्य मानिसहरूलाई सुसमाचार सुम्पन हामीलाई चाहिने सबै कुरा प्रदान गर्न येशूको अनुग्रह पर्याप्त छ।
प्र२: सिपाही जस्तै तयार हुन, खेलाडी जस्तै प्रतिस्पर्धा गर्न, वा किसान जस्तै काम गर्न तपाईं के गर्दै हुनुहुन्छ?

