परमेश्वरले शकेममा इस्राएलीहरूसित आफ्नो करारलाई नवीकरण गर्नुभयो (यहोशू २४)
God Renewed His Covenant With Israel At Shechem (Joshua 24)
के तपाईंलाई नियमहरू पटक-पटक सम्झाइएको मनपर्छ? अथवा के तपाईंलाई अरूलाई नियमहरू पटक-पटक सम्झाउन मनपर्छ? मनपर्दैन। तर आज हामी हेर्नेछौं कि परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूसित गर्नुभएको आफ्नो करारको बारेमा फेरि एक पटक सम्झाउनुहुन्छ।
१–१३ परमेश्वरको छुटकाराको सम्झना
पद १ मा, यहोशूले इस्राएलका सबै कुलहरूलाई शकेममा परमेश्वरको सामु हाजिर गराए। त्यसपछि उनले इस्राएलका धर्म-गुरुहरू, कुलनायकहरू, न्यायकर्ताहरू र अधिकारीहरूलाई परमेश्वरको उपस्थितिमा हाजिर हुनका लागि बोलाए। यहाँ, परमेश्वरको सामु आफूलाई प्रस्तुत गर्नु केवल एउटा आत्मिक कार्य मात्र थिएन, तर एउटा शारीरिक कार्य पनि थियो। तिनीहरू शकेममा परमप्रभुको सामु भेला भए, जुन यस्तो स्थान थियो जहाँ परमेश्वरले यसभन्दा अघि अब्राहम र याकूबसँग करारका प्रतिज्ञाहरू गर्नुभएको थियो।
पद २–१३ मा, यहोशूले मानिसहरूलाई परमप्रभुले उनीसँग भन्नुभएका कुराहरू बताउँछन्। परमेश्वरले इस्राएलीहरूलाई उहाँले तिनीहरूका लागि गर्नुभएका कार्यहरूको स्मरण गराउनुहुन्छ। यो इतिहासको एउटा पाठ हो, जुन केवल इस्राएलको विगतको बारेमा मात्र नभएर परमेश्वरको विश्वासयोग्यताको पुष्टि गर्छ। परमेश्वरले तिनीहरूका पुर्खा अब्राहमबाट सुरुवात गर्नुहुन्छ। उहाँले तिनीहरूलाई सम्झाउनुहुन्छ कि अब्राहम, नाहोरका र उनका पिता तेरह यूफ्रेटिस नदीपारि बस्थे र अन्य देवताहरूको पूजा गर्थे। तर परमेश्वरले अब्राहमलाई त्यस स्थानबाट निकाल्नुभयो र कनानभरि उनको मार्गदर्शन गर्नुभयो। परमेश्वरले उनलाई इसहाक, अनि याकूब र एसावका माध्यमबाट सन्तानहरू दिनुभयो। याकूब मिश्रतिर लागे, जबकि एसाव सेइरमा बस्न थाले। त्यसपछि परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशा र हारूनलाई पठाउनुभयो। परमेश्वरले तिनीहरूलाई फारोको सेनाबाट छुटकारा दिनुभयो, मरुभूमिमा तिनीहरूको नेतृत्व गर्नुभयो, तिनीहरूका आवश्यकताहरू पूरा गर्नुभयो र तिनीहरूको रक्षा गर्नुभयो।
परमप्रभुले तिनीहरूलाई एमोरीहरूको भूमिमा ल्याउनुभयो र तिनीहरूका शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्पिदिनुभयो। जब मोआबका राजा बालाकले इस्राएललाई सराप दिन बालामलाई पठाए, तब परमेश्वरले त्यो सरापलाई आशिषमा बदल्नुभयो र तिनीहरूको उद्धार गर्नुभयो। परमेश्वरले कनानका जातिहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। उहाँले तिनीहरूका शत्रुहरूलाई धपाउनुभयो र तिनीहरूलाई यस्तो भूमि दिनुभयो जुन तिनीहरूले बनाएका थिएनन्, यस्ता शहरहरू दिनुभयो जुन तिनीहरूले स्थापना गरेका थिएनन्, र तिनीहरूले नरोपेका दाखबारी र भिट्टाका जैतुनका बोटहरूबाट भोजन दिनुभयो।
अब, के यो आवश्यक थियो? के परमेश्वरले आफूले गरेका सबै कामहरू इस्राएलीहरूलाई सम्झाइरहनु आवश्यक थियो? थिएन। परमेश्वरलाई तिनीहरूलाई सम्झाउनु पर्ने कुनै आवश्यकता थिएन। यो परमेश्वरको लागि नभएर इस्राएलीहरूको लागि आवश्यक थियो किनभने तिनीहरूले बिर्सिसकेका थिए।
तर परमेश्वरले यो इतिहास केवल दोहोर्याउनका खातिर मात्र दोहोर्याउनुभएन। इस्राएलीहरूले सम्झनु आवश्यक थियो कि परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले सम्झाउनुहुन्छ किनभने उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूले उहाँको कुरा सुनेको चाहनुहुन्छ। मोशा बितिसकेका थिए, हारून बितिसकेका थिए, र अब यहोशू पनि आफ्नो जीवनको अन्त्यतिर पुग्दै थिए। अब इस्राएलको नेतृत्व कसले गर्ने त? जवाफ स्पष्ट थियो: तिनीहरूले परमप्रभुमाथि नै भरोसा राखिरहनु आवश्यक थियो।
जब म बाइबल पढ्छु, म अक्सर इस्राएलीहरूलाई हेर्छु र तिनीहरूसँग निराश हुन्छु। म सोध्छु, “तिनीहरूले कसरी परमेश्वरको कुरा सुनेनन् र उहाँको पछि लागेनन्?” तिनीहरूले दस वटा विपत्तिहरू देखे, परमेश्वरद्वारा सुरक्षित रहे, लाल समुद्र पार गरे, स्वर्गबाट ओर्लेको मन्न खाए, र धेरै विजयहरू प्रत्यक्ष देखे। तिनीहरूले ती कुराहरू अनुभव गरे जुन हामी अक्सर आफ्नै आँखाले हेर्न लालयित हुन्छौँ। त्यसैले म सोध्छु, “तिनीहरूले अझै पनि कसरी परमेश्वरको आशीष बिर्सन सके?” र कहिलेकाहीँ मलाई लाग्छ कि यदि मैले ती कुराहरू आफैँ अनुभव गरेको भए, म तिनीहरूभन्दा कति राम्रोसँग परमेश्वरको पछि लाग्ने थिएँ।
तर यहीँ निर म गलत हुन्छु। म अभिमानी बन्दछु। म इस्राएलीहरूले जस्तै गल्ती दोहोर्याउँछु। मत्ती ७:३ मा येशूले भन्नुभएझैँ, म आफ्नो आँखाको मुढालाई बेवास्ता गर्दै अर्काको आँखाको कसिङ्गर देख्छु। समस्या यो होइन कि इस्राएलीहरूले बिर्से; समस्या यो हो कि हामी सबैले पनि बिर्सेकाछौँ र हामी सबैलाई परमेश्वरको अनुग्रहको खाँचो छ। परमेश्वरले हामीलाई सम्झाउनुहुन्छ किनभने हामीलाई उहाँको आवश्यकता छ। हामीलाई आफ्नै बुद्धिमा होइन, तर विश्वासयोग्य हुनुहुने परमप्रभुमा भरपर्नु आवश्यक छ।
“तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाउनू, न त कुनै कुँदिएको मूर्ति वा खम्बा खडा गर्नू, न त दण्डवत् गर्नलाई आफ्नो भूमिमा बुट्टा कुँदिएको ढुङ्गा खडा गर्नू; किनकि म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” — लेवी २६:१
“किनभने म, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको दाहिने हात समात्छु; म नै हुँ जसले तिमीहरूलाई भन्दछु, ‘नडराओ, म तिमीहरूलाई सहायता गर्नेछु।’” — यशैया ४१:१३
परमेश्वरले तपाईंको जीवनमा गर्नुभएको त्यस्तो कुन एउटा कुरा छ जसलाई आज तपाईंले सम्झनु आवश्यक छ, ताकि तपाईं उहाँमाथि भरोसा राख्न र उहाँको पछि लाग्न निरन्तर सक्नुभएकोहोस्?
१४–२४ परमेश्वरको विश्वासयोग्यताको प्रतिउत्तर
(पद १४–१५) इस्राएलीहरूलाई परमेश्वरको विश्वासयोग्यताको स्मरण गराएपछि, यहोशूले तिनीहरूलाई एउटा छनौट गर्न चुनौती दिन्छन्। तिनीहरूले कि त परमप्रभुको भय मान्नुपर्छ र निष्कपटता एवं विश्वासयोग्यताका साथ उहाँको सेवा गर्नुपर्छ, कि त अन्य देवताहरूको सेवा गर्नुपर्छ। यसमा कुनै बीचको बाटो छैन। यहोशूले साहसका साथ घोषणा गर्छन्, “मेरो र मेरो घरानाको हकमा भने, हामी परमप्रभुको सेवा गर्नेछौँ।” तपाईंले एकै साथ साँचो परमेश्वर र झूटा देवताहरू दुवैको सेवा गर्न सक्नुहुन्न।
ती समूहहरूको बारेमा सोच्नुहोस् जसले मानिसहरूलाई परमेश्वरको आराधना गर्न प्रोत्साहन दिँदै गर्दा अन्य आत्मिक प्राणीहरू वा मूर्तिहरूलाई पनि आराधना गर्न सिकाउँछन्। के त्यो यहोशू २४ सँग मेल खान्छ? धर्मशास्त्र स्पष्ट छ कि केवल परमेश्वर मात्र आराधनाको योग्य हुनुहुन्छ। उहाँले आफ्नो महिमा अरू कसैसँग बाँड्नुहुन्न। तपाईं र तपाईंको घरानाले कसको सेवा गर्नुहुन्छ?
(पद १६–१८) यहोशूको चुनौती सुनेपछि, मानिसहरूले जवाफ दिए कि तिनीहरू पनि परमप्रभुको सेवा गर्नेछन्। उनीहरूले परमेश्वरले उनीहरूका पुर्खाहरू र उनीहरूका निम्ति गर्नुभएका सबै कुराहरूलाई स्वीकार गरे। उनीहरूले स्वीकार गरे कि केवल परमप्रभु मात्र उनीहरूका परमेश्वर हुनुहुन्थ्यो।
तर यहोशूको एउटा आश्चर्यजनक प्रतिक्रियालाई ध्यान दिनुहोस्। पद १९–२० मा उनले भन्छन्,
“यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्दैनौ, किनभने उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। उहाँ डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूका अपराध र तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन। तिमीहरूले परमप्रभुलाई त्यागेर पराई देवताहरूको पूजा गर्यौ भनेता अहिलेसम्म उहाँले तिमीहरूको हित गर्नुभए तापनि तिमीहरूको अहित गर्न उहाँ फर्कनुहुनेछ, र तिमीहरूलाई भस्म पार्नुहुनेछ।”
यहोशूले तिनीहरूलाई केवल बधाई मात्र दिँदैनन्। यसको सट्टा, उनले तिनीहरूलाई उनीहरूको प्रतिबद्धताको गम्भीरताको स्मरण गराउँछन्। किन? किनभने परमेश्वर पवित्र हुनुहुन्छ, र उहाँका मानिसहरूले बारम्बार देखाएका छन् कि तिनीहरू बाटो बिराउन प्रवृत्त हुन्छन्। यहोशूले तिनीहरूलाई लापरवाहीपूर्वक प्रतिज्ञा नगर्न चेतावनी दिइरहेका छन्। तिनीहरूले परमप्रभुको सेवा गर्दा लाग्ने मूल्यको लेखाजोखा गर्नैपर्छ।
ख्रीष्टियनहरूको रूपमा, हामी पनि यही सत्यलाई महसुस गर्छौँ। हामीमध्ये कसैले पनि आफ्नै बलमा विश्वासयोग्यताका साथ परमेश्वरको सेवा गर्न सक्दैनौँ। आफैँमा छोडिदिने हो भने, हामी असफल हुन्छौँ। तर येशू ख्रीष्ट, जो हाम्रा पापहरूलागि मर्नुभयो र फेरि जीवित हुनुभयो, उहाँको माध्यमबाट र विश्वासीहरूमा वास गर्नुहुने पवित्र आत्माको सामर्थ्यद्वारा परमेश्वरले हामीलाई आज्ञाकारितामा हिँड्न सक्षम बनाउनुहुन्छ। हाम्रो भरोसा आफैँमा होइन, तर परमेश्वरको अनुग्रहमा छ।
यहोशूले तिनीहरूलाई यो पनि सम्झाउँछन् कि परमेश्वर डाह गर्नुहुने (ईर्ष्यालु) परमेश्वर हुनुहुन्छ। कहिलेकाहीँ यो शब्दले मानिसहरूलाई असहज बनाउँछ। हामी अक्सर ईर्ष्यालाई स्वार्थ वा असुरक्षाको भावनासँग जोडेर हेर्छौँ। तर परमेश्वरको ईर्ष्या फरक छ। यो आफ्ना मानिसहरूसितको करारको सम्बन्धप्रतिको उहाँको पवित्र र धर्मी प्रतिबद्धता हो। किनभने उहाँ मात्र एकमात्र परमेश्वर हुनुहुन्छ, उहाँले मूर्तिहरू वा विभाजित आराधनालाई कदापि सहन गर्नुहुने छैन। प्रस्थान २०:१–६ पढ्नुहोस्। न्यायको बारेमा दिइएको चेतावनीले समेत यो देखाउँछ कि परमेश्वरले करारको विश्वासयोग्यतालाई कति गम्भीरताका साथ लिनुहुन्छ।
जब म परमेश्वरको ईर्ष्याको बारेमा सोध्छु, म यसलाई एउटा कमजोरीको रूपमा होइन तर उहाँको प्रेमको अभिव्यक्तिको रूपमा देख्छु। यदि परमेश्वरले आफ्ना मानिसहरूको वास्ता नगर्नुभएको भए, उहाँले तिनीहरूलाई सजिलै टाढा जान दिनुहुने थियो। यसको सट्टा, उहाँ तिनीहरूको पछि लाग्नुहुन्छ। उहाँको प्रेमको सबैभन्दा ठूलो प्रमाण यो हो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई हाम्रा पापहरूलागि क्रूसमा मर्न पठाउनुभयो ताकि हामी उहाँसँग मिलापमा आउन सकौँ।
म मेरा स्कूलका प्रिन्सिपललाई सम्झन्छु, जसले हामीले गल्ती गर्दा जहिले पनि हामीलाई अनुशासनमा राख्नुहुन्थ्यो। त्यस समयमा हामीलाई त्यो मन पर्दैनथ्यो, तर पछि हामीले महसुस गर्यौँ कि उहाँको अनुशासन हाम्रो भविष्यप्रतिको साँचो चिन्ताबाट आएको थियो। पछाडि फर्केर हेर्दा, मेरा धेरै साथीहरूले हामीले पाएको त्यो सुधारका लागि धन्यवाद दिन्छन् किनभने यसले हाम्रो जीवनलाई आकार दिन मद्दत गर्यो।
परमेश्वरको प्रेम अझ अनन्त रूपमा महान् छ। उहाँको अनुशासन कहिल्यै कठोर वा लापरवाहीपूर्ण हुँदैन, तर सधैँ पवित्र, बुद्धिमानी र आफ्ना छोराछोरीको भलाइका लागि हुन्छ। उहाँको डाह (ईर्ष्या) हाम्रो लागि श्राप होइन तर हाम्रो आशिष् हो, किनभने यसले देखाउँछ कि उहाँले आफूले बोलाउनुभएकाहरूलाई कहिल्यै त्याग्नुहुने छैन।
मानिसहरूले फेरि एक पटक जवाफ दिएर भने कि तिनीहरूले परमप्रभुको सेवा गर्नेछन्। त्यसपछि यहोशूले तिनीहरूलाई सम्झाए कि तिनीहरू आफैले परमेश्वरको सामु गरेको यस प्रतिबद्धताका तिनीहरू आफै साक्षी हुन्।
के परमप्रभुको सेवा गर्ने तपाईंको प्रतिबद्धता तपाईंको आफ्नै बलमा आधारित छ, वा तपाईं हरेक दिन येशू ख्रीष्टद्वारा पाउने परमेश्वरको अनुग्रहमा कसरी निर्भर भइरहनुभएको छ?
२५–३३ परमेश्वरको करारप्रति विश्वासयोग्य रहिरहनुहोस्
(पद २५–२८) यहोशूले शकेममा मानिसहरूसित करार नवीकरण गरे, यसका शब्दहरू परमेश्वरको व्यवस्थाको पुस्तकमा लिपिबद्ध गरे, एउटा ठूलो ढुङ्गालाई साक्षीको रूपमा खडा गरे, र त्यसपछि मानिसहरूलाई आ-आफ्नो अधिकारको भूमिमा (पैतृक सम्पत्तिमा) पठाए।
(पद २९–३३) यी कुराहरू भइसकेपछि, ११० वर्षको उमेरमा यहोशूको मृत्यु भयो। उनलाई दिइएको पदवीलाई ध्यान दिनुहोस्: “परमप्रभुका दास।” यहोशूको सम्पूर्ण पुस्तकभरि यो पदवी मोशाका लागि प्रयोग गरिएको थियो। अब, यहोशूको जीवनको अन्त्यमा, यो पदवी यहोशूलाई पनि दिइएको छ। परमप्रभुको विश्वासयोग्यताका साथ सेवा गर्ने व्यक्तिको रूपमा स्मरण गरिनु कस्तो ठूलो सौभाग्य हो।
ध्यान दिनुपर्ने अर्को वाक्यांश हो “आफ्नो अधिकारको भूमिमा।” यहोशूलाई उनकै निम्ति दिइएको भूमिमा दफन गरियो। यसले हामीलाई सम्झाउँछ कि परमेश्वरले आफ्ना प्रतिज्ञाहरू केवल इस्राएल राष्ट्रका लागि मात्र होइन, तर व्यक्तिगत रूपमा यहोशूका लागि पनि पूरा गर्नुभयो।
यहोशू आफ्नो नेतृत्वको सुरुदेखि लिएर आफ्नो जीवनको अन्त्यसम्म विश्वासयोग्य रहे। इस्राएलले धेरै शत्रुहरूको सामना गर्यो, विजय र असफलताहरू अनुभव गर्यो, तैपनि यहोशूले निरन्तर परमप्रभुको पछि लाग्न छोडेनन्। विश्वासयोग्यता सधैँ सजिलो हुँदैन। येशूले आफ्ना अनुयायीहरूलाई भन्नुभयो कि तिनीहरूले उहाँको नामको खातिर कष्ट र सतावटहरूको सामना गर्नुपर्नेछ, र उहाँले तिनीहरूलाई अन्त्यसम्म विश्वासयोग्यताका साथ स्थिर रहन आह्वान गर्नुहुन्छ (मत्ती १०:२२; २४:१३)।
यदि तपाईंको जीवन आजै समाप्त हुने हो भने, के अरूहरूले तपाईंलाई परमप्रभुको विश्वासयोग्यताका साथ सेवा गर्ने व्यक्तिको रूपमा वर्णन गर्नेछन्?


