अन्तिम अभिवादन र सेवामा विश्वासयोग्यता (२ तिमोथी ४:९-२२)
Final Greetings and Faithfulness in Ministry ( 2 Timothy 4:9–22)
२ तिमोथी ४:९-२१ मा, पावलले धेरै सहकर्मी र साथीहरूको उल्लेख गर्छन्, जम्माजम्मी एक दर्जन व्यक्तिहरू। आफ्नो समय छोटो हुँदै गएको थाहा पाउँदै, जेलबाट लेख्दा हामी उनका अन्तिम शब्दहरूको गहिरो भार हामी महसुस गर्छौं।
उनका केही सहकर्मीहरू सेवकाइमा विश्वासी रहे। केही अरू सेवा गर्न विभिन्न स्थानहरूमा गए। र केहीले चाहिँ उनको आवश्यकताको घडीमा उनलाई त्यागेर गए।
यसले एउटा प्रश्न उठाउँछ:
के हामी मूल्य चुकाउनुपरे पनि ख्रीष्टप्रति विश्वासी रहन तयार छौं, वा दबाबका कारण हामी पछि हट्नेछौं?
९–१३ व्यक्तिगत अनुरोध र सहकर्मीहरू
पावलले तिमोथीलाई यस्तो आग्रह गर्छन्: “मकहाँ चाँड़ै आउनलाई भरमग्दूर कोसिस गर।”
उनले यो पनि भन्छन्, “हिउँद अघि नै आउने भरसक कोसिस गर” (२ तिमोथी ४:२१), सम्भवतः किनभने मौसमअनुसार आउने आँधीबेहरी र असुरक्षित समुद्री अवस्थाका कारण यात्रा गर्न गाह्रो हुने थियो।
यो केवल तार्किक वा व्यवहारिक अनुरोध मात्र थिएन, यो गहिरो रूपमा सम्बन्धसँग जोडिएको थियो। पावल आफ्ना अन्तिम दिनहरूमा संगति र प्रोत्साहनको चाहना राखेका थिए। सम्भवतः उनले तिमोथीप्रति आफ्नो प्रेम व्यक्त गर्न र एफिससमा उनले गरिरहेको सेवाको पुष्टि गर्न चाहन्थे। तिमोथी पावलका विश्वासमा साँचो बालक थिए, र पावलले अन्तिम पटक उनलाई भेटेर हेर्न र प्रोत्साहन दिन गहिरो इच्छा गरेका थिए।
प्रश्न: तपाईंले यसरी कसलाई सम्झनुभएको छ? कसलाई प्रोत्साहित गर्ने ठूलो इच्छा तपाईंमा छ? परमेश्वरले तपाईंको हृदयमा कसलाई राख्नुभएको छ?
पहिलो शताब्दीमा सञ्चारको मुख्य माध्यम पत्रहरू थिए, तर तिनले व्यक्तिगत उपस्थितिलाई प्रतिस्थापन गर्न सक्दैनथे। पावलले तिमोथीको आमनेसामने उपस्थितिको चाहना राखेका थिए।
यसले हामीलाई सम्झाउँछ कि ख्रीष्टियन संगति केवल जानकारी आदानप्रदानको लागि मात्र होइन, सम्बन्धमा पनि आधारित हो। आज पनि, हामीसँग तुरुन्त सञ्चार गर्ने साधनहरू भए तापनि, शारीरिक उपस्थितिले अझै पनि विशेष महत्व राख्छ।
डेमासले यस वर्तमान संसारलाई प्रेम गरेकाले पावललाई छोडेर गए। प्रेरित यूहन्नाले हामीलाई सम्झाउँछन् कि यदि कसैले संसारलाई प्रेम गर्छ भने, त्यसमा पिताको प्रेम हुँदैन (१ यूहन्ना २:१५)।
पावलले तिमोथीलाई पनि सम्झाउँछन् कि उनी एक्लो छैनन्।
केही सहकर्मीहरू अझै पनि सेवकाईमा सक्रिय छन्:
क्रेसेन्स गलातियामा गएका छन्
तीतस दलमातियामा
तुखिकस एफिससमा
अरू केही भने पावलसँगै रहे:
सुसमाचार लेखक लूका उनीसँग छन्, जो पावलका नजिकका सहकर्मी र सुसमाचारका घटनाहरूका सावधान अनुसन्धानकर्ता हुन् (लूका १:१–४)।
उनले मर्कूसलाई (यूहन्ना, जसलाई मर्कूस पनि भनिन्थ्यो -- प्रेरित १२:१२, १२:२५, १५:३७) पनि बोलाएका छन्, जसले पहिलेको मिशनरी कार्यको समयमा साथ छोडेका थिए (प्रेरित १३:१३), तर पछि पुनः उपयोगी भएको देखिन्छ (कलस्सी ४:१०)।
१४-१५ चेतावनी र विरोध
पावलले तिमोथीलाई तमौटे (ताम्रकार) अलेक्जेन्डरको बारेमा चेतावनी दिन्छन्, जसले उनको सन्देशको कडा विरोध गरे। अलेक्जेन्डरले विश्वास गरेपछि त्यसलाई अस्वीकार गरेका थिए (१ तिमोथी १:२०)। केही बाइबलका विद्वानहरू भन्छन् कि पावलको सुनुवाइको समयमा अलेक्जेन्डरले पावलको विरुद्धमा साक्षी दिएको हुन सक्छ।
सायद पावलले “अधर्मीहरूबाट टाढा रहनु” (२ तिमोथी ३:५) भन्नुको अर्थ यही हुन सक्छ -- “भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने।” पावलले न्याय परमेश्वरलाई सुम्पन्छन् र तिमोथीलाई सचेत रहन आग्रह गर्छन्।
सुसमाचारप्रतिको विरोध सेवकाइको वास्तविकता हो, तर अन्तिम न्याय परमेश्वरकै हुन्छ।
१६-१८ परीक्षाहरूमा प्रभुको विश्वासयोग्यता
पावलले आफ्नो पहिलो बचाउको समयमा धेरैले उनलाई त्यागेको कुरा सम्झन्छन्। तैपनि उनी प्रार्थना गर्छन्, “यस कुराको दोष तिनीहरूलाई नलागोस्।”
पावलले येशू ख्रीष्टलाई पछ्याउने वास्तविकतालाई बुझेका छन्। अन्त्यसम्म प्रभुमा स्थिर रहनु सजिलो छैन। उहाँलाई पछ्याउनु सधैं सहज हुँदैन। पावलको एक्लोपनले दुई कुरा देखाउँछ: पहिलो, डर, सतावट वा अनिश्चितताका कारण प्रतिबद्ध विश्वासीहरू पनि दबाबमा कमजोर पर्न सक्छन् र पछि हट्न सक्छन्। दोस्रो, येशूलाई पछ्याउँदा कहिलेकाहीँ एक्लोपन आउन सक्छ, किनकि कठिन समयमा अरूहरू टाढा हुन सक्छन्।
तैपनि आफूलाई छोडेर जानेहरूलाई निन्दा गर्नुको सट्टा, पावलले अनुग्रह देखाउँछन्। उनी मानवीय कमजोरीलाई बुझ्छन्। यसले ख्रीष्टियन विश्वासको एक मुख्य विषयलाई देखाउँछ: रिस (द्वेष) भन्दा क्षमा।
यद्यपि, एक्लोपनमा पनि, पावल साँच्चै एक्लो थिएनन्: “तर प्रभु मेरो साथमा उभिनुभयो र मलाई बलियो बनाउनुभयो।” यही यस खण्डको केन्द्रबिन्दु हो। मानव समर्थन असफल हुन सक्छ, तर परमेश्वरको उपस्थिति असफल हुँदैन। हामी कहिल्यै साँच्चै एक्लो हुँदैनौं, किनकि प्रभु हामीसँग खड़ा हुनुहुन्छ, जसरी उहाँले पावलसँग खड़ा हुनुभयो।
यसकारण, पावलले साहसपूर्वक सुसमाचार घोषणा गर्न जारी राखे, अदालतमा पनि। परमेश्वरको उपस्थितिले सधैं दुःखकष्ट हटाउँदैन, तर त्यसको बीचमा विश्वासयोग्य रहन शक्ति दिन्छ।
१९–२२ अन्तिम अभिवादन
पावलले आफ्ना विश्वासयोग्य सहकर्मीहरू र साथीहरूलाई अभिवादन पठाउँछन्, जसले सेवकाइ कहिल्यै एक्लै गर्ने कुरा होइन भन्ने देखाउँछ। सुसमाचार मानिसहरूको अन्तरसम्बन्धमार्फत अघि बढ्छ: केही नजिक, केही टाढा।
कारागारमा हुँदा पनि पावल ख्रीष्टमा साझा गरिएको सेवाको सम्झनाले घेरिएका छन्।
निष्कर्ष
पावलका अन्तिम शब्दहरूले हामीलाई सम्झाउँछन् कि ख्रीष्टियन जीवन समुदायमा जिउने कुरा हो, दुःखमा परिक्षित हुन्छ, र प्रभुको विश्वासयोग्य उपस्थितिले सँभालिन्छ।
हाम्रो लागि प्रश्न केवल हाम्रो साथमा को उभिन्छ भन्ने मात्र होइन, तर महत्वपूर्ण समयमा हामी ख्रीष्टप्रति कत्तिको विश्वासयोग्य भएर उभिन्छौं भन्ने हो।
प्रश्न: सेवकाइमा तपाईंसँगै विश्वासयोग्य भएर रहने मानिसहरू को को हुन्?
प्रार्थना गरौं!


