बौरिउठ्नुभएको येशू ख्रीष्टलाई सम्झनु (पद ८)
बलियो, प्रतिबद्ध र मेहनती मानिसहरूको उदाहरण दिएपछि, पावलले तिमोथीलाई येशू ख्रीष्टलाई सम्झन भन्छन् (२:८)।
किन?
सबैभन्दा ठूलो उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ जसले परमेश्वर पिताप्रतिको आफ्नो प्रेम र प्रतिबद्धताको कारण रोमीहरूद्वारा क्रूसमा टाँगिनु भयो (२:८)। तिमोथीले मरेका ख्रीष्टको बारेमा होइन, तर बौरी उठ्नुभएको जीवित प्रभुको बारेमा सोच्नु पर्छ। यो नै पावलको “सुसमाचार” हो। वास्तवमा, यही कारणले गर्दा पावल जेलमा छन्। उनले बौरी उठ्नुभएको येशूको घोषणा गर्छन्। पुनरुत्थानको आइतबारमा हामी येशू मृत्युबाट पुनरुत्थान हुनुभएको दिन मनाउछौं र उहाँ नै संसारको पापहरू हटाउने परमेश्वर हुनुहुन्छ भनेर हामी साक्षी दिन्छौं। जब कठिन समय आउँछ, हामीले यो सत्य सिकाउन कहिल्यै लजाउनु वा डराउनु हुँदैन।
अर्को, पावलले येशू दाऊदको पुत्र हुनुहुन्छ भनेर किन भन्छन्?
परमेश्वरका प्रतिज्ञाहरूको पूर्तितर्फ ध्यान आकर्षित गर्न पावलले यहाँ येशू दाऊदको पुत्र हुनुहुन्छ भन्ने कुरा उल्लेख गरेका हुन सक्छन्। येशू अगमवाणी गरिएका मसीह हुनुहुन्थ्यो, जो सबै मानिसहरूलाई पाप र मृत्युबाट बचाउन पृथ्वीमा आउनुभएको थियो। उहाँ क्रूसमा मर्नुभयो, गाडिनुभयो, र तेस्रो दिनमा बौरी उठ्नुभयो। पावलले तिमोथीलाई सचेत गराउँदै भन्नुहुन्छ कि उसले येशूको बारेमा गलत शिक्षा दिने कुनै पनि कुरा सुन्नु हुँदैन।
येशू, दाऊदका सन्तान र राजा हुनुहुन्छ, तर उहाँले सबै मानिसहरूको पापको लागि क्रूसमा दुःख भोग्नुभयो र मर्नुभयो। येशूको पुनरुत्थान केवल इतिहास मात्र होइन, यो आज पनि हाम्रो जीवन परिवर्तन गर्ने शक्ति हो।
प्रश्न १. तपाईंले बौरिउठ्नुभएको येशूलाई कति सम्झनुभएको छ? उहाँको पुनरुत्थानले तपाईंको आशा, डर वा निर्णयहरूमा कस्तो परिवर्तन ल्याएको छ?
चुनिएकाहरूको खातिर सबै कुरा सहनु (पद ९-१०)
पद ९ मा पावल भन्छन् कि उनी येशू ख्रीष्टको लागि एक अपराधीझैँ रोमी जेलमा मृत्युदण्डको पर्खाइमा पीडा भोगिरहेका छन्। साथै, उनले तिमोथीलाई पनि ख्रीष्टको सुसमाचारको लागि दुःख भोग्न आह्वान गर्छन्। ख्रीष्टियन जीवनमा कठिनाइ स्वाभाविक छ (मत्ती २४:९–१२)। तर अन्त्यसम्म दृढ रहनेहरूलाई अनन्त जीवनको प्रतिज्ञा गरिएको छ।
येशूले भन्नुभयो, “मेरो कारणले गर्दा तिमीहरू सबैबाट घृणा पाउनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो बचाइनेछ।” (मत्ती १०:२२)
तपाईं ख्रीष्टको कैदी हुनुहुन्छ भन्ने कुरा सम्झनुहोस्। तपाईं परिस्थिति वा मानिसहरूको कैदी होइन (एफिसी ३:१)। जब हामी दुःख भोग्छौं, हामीले यो सम्झनुपर्छ कि येशूले पहिले दुःख भोग्नुभयो, र उहाँको अनुग्रहले हामी पनि सहन सक्छौं।
पद ९ ले यो पनि भन्छ कि परमेश्वरको वचन बन्धनमा छैन। परमेश्वरको वचनलाई साङ्ला, सांसारिक शक्ति वा कुनै पनि कुराले रोक्न सक्दैन। येशू परमेश्वरको वचन हुनुहुन्छ। मृत्युले उहाँलाई बाँध्न सकेन। उहाँले मृत्युलाई पराजित गर्नुभयो (२ तिमोथी १:१०) र फेरि बौरी उठ्नुभयो। अहिले उहाँ परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुहुन्छ (मर्कूस १६:१९)। परमेश्वरको प्रशंसा होस्—उहाँले आफ्नो वचन तपाईं र मलाई सुम्पनुभएको छ। कस्तो ठूलो आशिष् र विशेषाधिकार!
तर यो केवल आफ्नै लागि राख्नका लागि होइन। हामीलाई यो सुसमाचार अरूलाई पनि दिन आज्ञा गरिएको छ। त्यसैले यसलाई विश्वासयोग्य मानिसहरूलाई सुम्पनु आवश्यक छ। यसैकारण पावलले तिमोथीलाई, र आज हामीलाई पनि, चुनिएका विश्वासयोग्य मानिसहरूको खातिर सबै कुरा सहन आह्वान गरेका छन्, जबसम्म हामीले तिनीहरूलाई भेट्टाएर सत्य सुम्पन सक्दैनौं।
प्रश्न २. येशू ख्रीष्टमा विश्वासयोग्य मानिसहरूको खातिर तपाईंले कस्तो कष्ट भोगिरहनुभएको छ?
यो भनाइ विश्वासयोग्य छ, किनकि उहाँले आफैंलाई इन्कार गर्न सक्दैन (पद ११-१३)
यो भनाइ के हो? यसको अर्थ के हो?
“यो भनाइ विश्वासयोग्य छ” भन्ने वाक्यले प्रारम्भिक मण्डलीमा प्रचलित एउटा सत्य वा स्तुति (hymn जस्तै) लाई जनाउँछ, जसले ख्रीष्टियन जीवनका महत्वपूर्ण सिद्धान्तहरू बताउँछ।
पहिलो सिद्धान्त:
यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी उहाँसँगै बाँच्नेछौं।
येशूले भन्नुभयो:
“किनकि जसले आफ्नो जीवन बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ; तर जसले मेरो निम्ति आफ्नो जीवन गुमाउँछ, उसले त्यो पाउनेछ।” (मत्ती १६:२५; मर्कूस ८:३५; लूका ९:२४)
यसको अर्थ के हो?
हामी “ख्रीष्टसँग मर्नु” भनेको शारीरिक मृत्यु मात्र होइन, तर आफ्नै इच्छा, पाप र स्वार्थी जीवनलाई इन्कार गरेर ख्रीष्टसँग पहिचान गर्नु हो। जब हामी यसरी उहाँसँग एक हुन्छौं, तब मात्र हामी साँचो आत्मिक जीवन पाउँछौं।
“हामी उहाँसँग बाँच्नेछौं” भन्ने वाक्यले केवल भविष्यको पुनरुत्थानलाई मात्र जनाउँदैन, तर अहिलेको जीवनलाई पनि जनाउँछ। ख्रीष्टमा हामी नयाँ जीवन जिउँछौं (रोमी ६:३–६, ८, ११)।
पावलले पनि भन्छन्:
“मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो।” (फिलिप्पी १:२१)
प्रश्न ३. परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र हामी ख्रीष्टमा नयाँ जीवन पाउँछौं भन्ने सत्यले तपाईंको दैनिक जीवनमा कस्तो परिवर्तन ल्याउँछ?


