पावलले तिमोथीलाई सुसमाचारदेखि नलजाउन भने (२ तिमोथी १:८-१४)
Paul Tells Timothy To Not Be Ashamed Of The Gospel (2 Timothy 1:8-14 )
समीक्षा
तिमोथीलाई अभिवादन र उनको निष्कपट विश्वासको पुष्टि गरेपछि, पावलले उनलाई पहिले हाम्रा प्रभुको वा सुसमाचारको गवाही दिन लज्जित नहुन आग्रह गर्छन्। दोस्रो, उनी तिमोथीलाई भन्छन् कि पावलसँग पनि लज्जित नहुनू, जो अहिले ख्रीष्टको लागि कैदमा छन्। बरु, तिमोथीलाई परमेश्वरको शक्तिद्वारा सुसमाचारको खातिर दुःखमा सहभागी हुन बोलाउछन् (२ तिमोथी १:८)।
हामीले कहिले सुसमाचारप्रति लज्जित महसुस गरेकार्छौं?
कस्ता कार्यहरू वा मनोवृत्तिहरूले सुसमाचारप्रति हाम्रो लज्जितपन प्रकट गर्न सक्छन्?
तिमोथी जस्तै हामी पनि सुसमाचार देखि कसरी लज्जित हुँदैछौं?
मानौं, एउटा विश्वासी अफिस वा स्कूलमा छ जहाँ उसको वरपरका मानिसहरू वा साथीहरू ख्रीष्टमा विश्वासलाई पुरानो वा अवैज्ञानिक सोच, वा धर्म-परवर्तन मान्छन्। जब सहकर्मी वा साथीहरूमाझ विश्वासको बारेमा कुराकानी हुन्छ, यो व्यक्ति मौन रहन रोज्छ, आफ्नो विश्वास वा पाएको आशीष लुकाउँछ, वा खुलेआम आफैलाई ख्रीष्टियनको रूपमा पहिचान गर्न हिचकिचाउँछ। यस्तो अवस्थामा, सुसमाचारप्रति लज्जित हुने परीक्षा आउन सक्छ।
२ तिमोथी १:८ ले हामीलाई सम्झाउँछ कि हामी आफ्नै शक्तिले होइन, तर परमेश्वरको शक्तिद्वारा सुसमाचारको खातिर दुःखमा सहभागी हुन बोलाइएका छौं। यसको अर्थ सधैं ठूलो सतावट भोग्नुपर्छ भन्ने होइन, तर कहिलेकाहीँ असहज स्थिति, गलत बुझाइ, वा सामाजिक दबाब सहन तयार रहनु हो। यस्तो बेला, सत्यलाई प्रेमसाथ र नम्रतापूर्वक प्रस्तुत गर्दै, परिणाम परमेश्वरको हातमा छोड्नु नै सुसमाचारप्रति विश्वासी रहनुको एउटा व्यावहारिक तरिका र ठोस अभ्यास हो।
तर यसको अर्थ यो होइन कि तपाईं चुप लागेर बस्नु वा तर्क गर्नु। यसको अर्थ हो कि तपाईंले येशूमा भएको तपाईंको विश्वासको कुरा गर्नु। तपाईं किन येशूमा विश्वास गर्नुहुन्छ त्यो सत्य बताउनु। यति नै हो!
पावलको जोडको कारण
पावलले तिमोथीलाई यस विषयमा किन यति जोड दिइरहेका छन्?
तिमोथी अहिले डराएको वा निराश भएको हुन सक्छ। उनका गुरु पावलले सत्य घोषणा गरेको कारण जेल हालिएका छन्, र यसले स्वाभाविक रूपमा केही चिन्ताजनक प्रश्नहरू उठाउन सक्छ:
परमेश्वरको सत्य प्रचार गरेको कारण कोही जेल जान सक्छ र?
के म साँच्चै साँचो परमेश्वरलाई पछ्याइरहेको छु?
के येशू साँच्चै परमेश्वरको पुत्र, मेरा प्रभु र मुक्तिदाता हुनुहुन्छ?
सुसमाचारको शक्ति र उद्देश्य
पावलले पहिले नै तिमोथीलाई सत्यलाई विकृत गर्ने झूटा शिक्षकहरूको बारेमा चेतावनी दिँदै लेखिसकेका थिए (१ तिमोथी १:३–७)। अब फेरि जेलबाट लेख्दै, पावलले तिमोथीलाई आफ्नो विश्वास सम्झन र आफूलाई सुम्पिएको सुसमाचारमा दृढ रहन सम्झाउँछन्। बरु, उसलाई ख्रीष्टको लागि र सुसमाचारको खातिर “दुःखमा सहभागी हुन” बोलाउँछन्। यही सत्यलाई पावलले अन्यत्र पनि जोड दिएकाछन्:
“किनकि म सुसमाचारसँग शर्माउँदिनँ। किनभने यो विश्वास गर्ने प्रत्येकको मुक्तिको निम्ति परमेश्वरको शक्ति हो—पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।” (रोमी १:१६)
येशूको सुसमाचार सत्य, शक्तिशाली, र उद्देश्यपूर्ण। यो सुसमाचारले जीवन दिन्छ। यसले परमेश्वरको धार्मिकता प्रकट गर्छ र हामीलाई अनन्त जीवनतर्फ डोऱ्याउँछ (रोमी १:१७)। सुसमाचारमार्फत हामी सिक्छौं कि:
परमेश्वरले संसार सृष्टि गर्नुभयो,
मानवता पापमा फस्यो,
तैपनि परमेश्वरले मानव जातिलाई प्रेम गर्नुभयो।
यसकारण उहाँले आफ्नो पुत्र, येशू ख्रीष्टलाई मानिस भएर जन्मन, दुःख भोग्न र क्रुसमा मर्न पठाउनुभयो, ताकि हामी उहाँसँग फेरी मिलापमा आउन सकौं—कामहरूद्वारा होइन, तर अनुग्रहबाट विश्वासद्वारा (एफिसी २:८–९)।
पवित्र बोलावट र तिमोथीको प्रेरणा
हामीले केवल मुक्ति मात्र पाएका छैनौं; हामीलाई “पवित्र बोलावट” (पद ९) मा पनि बोलाइएको छ। यो बोलावट हाम्रा कामहरूमा आधारित छैन, तर परमेश्वरको उद्देश्य र अनुग्रहमा आधारित छ। पत्रुसले यो बोलावट यसरी स्पष्ट रूपमा व्यक्त गर्छन्:
“...ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।” (१ पत्रुस २:९)
यो पवित्र बोलावट हाम्रो मुक्तिदाता ख्रीष्ट येशूको पहिलो आगमन मार्फत प्रकट भएको थियो। उहाँ मार्फत मृत्युलाई समाप्त पारियो, र सुसमाचारद्वारा जीवन र अमरत्वलाई प्रकाशमा ल्याइयो।
पावल आफैंले यो सत्यलाई आफ्नो जीवनद्वारा देखाए। उनी भन्छन् उनलाई नियुक्त गरियो:
एक प्रचारक हुन, जसले सुसमाचार घोषणा गर्छ,
एक प्रेरित हुन, जसले ख्रीष्टको आधिकारिक सन्देशवाहकका रूपमा काम गर्छ,
र एक शिक्षक हुन, जसले अरूलाई परमेश्वरको वचनको सत्यतामा निर्देशन दिन्छ (पद ११)।
पावलले तिमोथीलाई आफ्नो बोलावट र आज्ञाको सम्झना किन गराउँछन् त?
यो तिमोथीलाई प्रोत्साहन दिनको लागि हो। यदि पावल जस्तो महान् प्रेरित, आफ्नो बोलावटमा स्पष्ट र आफ्नो मिशनप्रति वफादार हुँदा पनि दुःख भोग्न बोलाइएको छ भने, तिमोथीले पनि दुःख भोग्नुपरेमा छक्क पर्नु पर्दैन।
येशूको चेतावनी
वास्तवमा, येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुरा यही हो।
“तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्।” मत्ती २४:९
यदि संसारले हाम्रो परमेश्वोरलाई दुःख दियो भने, हामी त को नै हौं र? “चेला गुरु भन्दा ठूलो हुँदैन…” मत्ती १०:२४
“यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो।” यूहन्ना १५:१८–२०
तर येशूले भन्नुभयो कि यो आशिष हो।
“धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो… किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।” मत्ती ५:१०–१२
दुःख भोग्नुपर्ने कारण
तर तिमोथीले किन दुःख भोग्नैपर्ने?
किनभने संसारले सत्यको प्रतिरोध गर्छ। र यदि तिमोथीले सुसमाचारको सत्यता सिकाइरहेका छन् भने, उनी सताइनेछन्। सुसमाचारले पश्चात्ताप र परिवर्तनको माग गर्छ, र धेरै मानिसहरूले आज्ञाकारिताभन्दा अज्ञानता वा विरोधलाई प्राथमिकता दिन्छन्। यद्यपि, तिमोथीले सुसमाचारको काम गर्दा दु:ख भोग्नुपर्नेछ, तर ऊ अन्तसम्म विश्वासी रहनुपर्नेछ र बीचैमा छोड्नु हुँदैन (मत्ती १०:२२)।
येशूले हामीलाई सिकाउनुहुन्छ कि हामीले आफ्नो दुष्ट मार्गहरू परिवर्तन गर्नुपर्छ र परमेश्वरतिर फर्कनु पर्छ। हामीलाई सबै अनैतिक, अपवित्र र ईश्वरहीन कुराहरूबाट बाहिर बोलाइएको छ। जब मानिसहरूले येशू नै प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्छन्, तब उनीहरू आफ्नै मापदण्डअनुसार होइन, तर उहाँका मापदण्डअनुसार जीवन जिउनु पर्छ।
तर मानिसहरू परिवर्तन हुन चाहँदैनन्, विशेष गरी जब त्यसले उनीहरूको जीवनशैलीलाई चुनौती दिन्छ। यदि कसैले जीवनभर भ्रष्टाचार गरेको छ वा सर्टकट अपनाएर फाइदा उठाएको छ भने, त्यो मानिस किन येशूले सिकेको गारो बाटोमा हिड्ला र? र यदि येशूको मार्गमा हिड्दा जीवन अझ गाह्रो हुन्छ भने, किन कोहिले सत्य र इमानदारीको बाटो रोज्ला र?
धेरै मानिसहरू सत्यता र इमानदारीताका कुराहरू गर्न चाहँदैनन्। यी कुरा सुन्दा मात्र राम्रा लाग्छन्, तर शरीरले चाहेको कुरा फरक हुन्छ। शरीरले सजिलो बाटो रोज्छ। केही मानिसहरू त्यस्ता सन्देश सुन्न पनि चाहँदैनन् र यी विचारधाराहरू फैलिन दिन चाहन्छन्, विशेष गरी जब उनीहरूलाई असत्यले शक्ति प्राप्त गर्छ। त्यसैले तिनीहरू चाहन्छन् कि ख्रीष्टको सुसमाचार फैलिन बन्द होस्।
तर ख्रीष्टको प्रचार गर्न इन्कार नगरेको कारण पावल अझै जेलमा छन्। तैपनि पावल साहसपूर्वक घोषणा गर्छन्, “म शर्माउँदिनँ” (पद १२)। उनी कसमाथि विश्वास गरेका छन् भनि जान्दछन्। त्यतिमात्र होइन, ख्रीष्टको पुनरागमनको दिनसम्म आफूलाई सुम्पिएको सुसमाचारको रक्षा गर्न परमेश्वर सक्षम हुनुहुन्छ भन्ने कुरामा पनि उनी पूर्ण भरोसा राख्छन्।
सबैको बोलावट
तिमोथीलाई पनि त्यही गर्न बोलाइएको छ:
साँचो शिक्षाको नमुनाका रूपमा सुसमाचारलाई दृढतासाथ पक्रिराख्न,
ख्रीष्ट येशूमा विश्वास र प्रेमद्वारा त्यसको रक्षा गर्न,
र पवित्र आत्मामा भर पर्न, जसले हामीलाई सुम्पिएको सत्यको संरक्षण गर्न सक्षम बनाउनुहुन्छ।
विश्वासी रहनु भनेको, ठूलो मूल्य तिर्नुपरे तापनि, प्रेमसाथ सुसमाचारमा बाँच्नु र सुसमाचार घोषणा गर्नु हो।
प्रश्न: हामी कसरी हामीलाई सुम्पिएको सुसमाचारप्रति विश्वासी रहन सक्छौं?


