१–२ प्रेरित पावलले आफ्नो प्रिय छोरा तिमोथीलाई अभिवादन गर्छन्
यो प्रेरित पावलले तिमोथीलाई लेखेको दोस्रो पत्र हो। बाइबलका विद्वानहरूले हामीलाई बताउँछन् कि यो पत्र पावल दोस्रो पटक रोममा कैदमा परेका बेला लेखिएको थियो। यस पटक उनी आफ्नो मृत्युदण्डको पर्खाइमा थिए। तर पावल मृत्युसँग चिन्तित वा डराएका छैनन्, किनकि उनले यो सत्य बुझेका थिए, “मर्नु लाभ हो र बाँच्नु ख्रीष्ट हो” (फिलिप्पी १:२१)।
पद १ मा पावल भन्छन् कि उनलाई थाहा छ, उनको जीवनको प्रतिज्ञा येशू ख्रीष्टमा छ। यो प्रतिज्ञा अनन्त जीवनको प्रतिज्ञा हो। त्यसैले यस पत्रमा पावल आफ्नो मृत्युदण्डको डर व्यक्त गरिरहेका छैनन्, बरु ख्रीष्टमा भएको आशा र भरोसा प्रकट गरिरहेका छन्।
पावलले आफूलाई ख्रीष्ट येशूको प्रेरित भनेर सम्बोधन गर्छन्। यसको अर्थ, उनी एक सन्देशवाहक, साक्षी, र सुसमाचारको राजदूत हुन्, जसलाई सुसमाचार प्रचार गर्न परमेश्वरले पठाउनुभएको हो। हामीले थाहा पाएको सुसमाचार भनेको ख्रीष्टमा भएको अनन्त जीवनको वरदान हो, जुन हामीले येशूलाई हाम्रो प्रभु र मुक्तिदाताको रूपमा विश्वास र स्वीकार गर्दा प्राप्त गर्छौं (यूहन्ना ३:१६)।
पावल स्पष्ट रूपमा भन्छन् कि उनी न त आफ्नै इच्छाले, न त मानिसहरूको इच्छाले प्रेरित बनेका हुन्, तर केवल परमेश्वरको इच्छाले प्रेरित भएका हुन्। प्रेरित ९:१५–१६ मा प्रभुले हननियालाई यसरी भन्नुहुन्छ:
“जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्। किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु।”
पावल यो अन्तिम पत्र तिमोथीलाई प्रोत्साहन दिन लेखिरहेका छन्, तिमोथीलाई, जसलाई उनी आफ्नो प्रिय छोरा ठान्छन्। यसले हामीलाई देखाउँछ कि पावल र तिमोथी व्यक्तिगत र आत्मिक रूपमा धेरै नजिक थिए। पावलले अन्य मण्डलीहरूलाई लेखेका पत्रहरूमा पनि आफ्ना अभिवादनहरूमा तिमोथीको नाम उल्लेख गरेका छन् (१ तिमोथी १:१ “विश्वासमा मेरो साँचो बालक”)।
पावल र तिमोथीले सँगै सुसमाचार प्रचार गरे र मण्डलीहरू निर्माण गरे। तिमोथी पावलका प्रशिक्षार्थी, चेला, र सहकर्मी थिए। अब पावलपछि मानिसहरू र मण्डलीहरूको जिम्मेवारी तिमोथीलाई सुम्पिएको थियो। ख्रीष्ट येशूमा तिमोथी पावलका विश्वासका पुत्र थिए, त्यसैले उनी पावलका लागि अत्यन्तै प्रिय थिए। यही कारण पावल चाहन्छन् कि तिमोथी विश्वासमा साहसी र निडर बनून्, ताकि उनले सुसमाचार प्रचार गर्न नछोडून् र न त सुसमाचारको कारण कैदमा परेका पावलसँग लज्जित होऊन्।
पावलले तिमोथीलाई अनुग्रहको सम्झना गराउँछन्, जो परमेश्वरको उपहार हो; दयाको सम्झना गराउँछन्, जसको मूल्य ख्रीष्टले हाम्रा पापहरूको लागि क्रूसमा तिर्नुभयो; र शान्तिको सम्झना गराउँछन्, जुन परमेश्वरले विश्वास गर्ने सबैलाई प्रतिज्ञा गर्नुभएको छ।
३–४ पावल तिमोथीलाई भेटेर आनन्दले भरिन चाहन्छन्
पद ३ मा पावल तिमोथीलाई सम्झाउँछन् कि उनी आफ्ना यहूदी पुर्खाहरूको परमेश्वरलाई सफा विवेकले सेवा गर्छन्। उनले सेवा गर्ने परमेश्वर उही परमेश्वर हुनुहुन्छ, जसलाई उनका पुर्खाहरूले सेवा गरेका थिए। पुर्खाहरूको परमेश्वर र अहिले उनीहरूले पुज्ने परमेश्वर एउटै हुनुहुन्छ; यसमा कुनै शंका छैन।
पावल तिमोथीलाई सम्झिरहेको कुरा व्यक्त गर्छन्। उनी तिमोथीको लागि निरन्तर प्रार्थना गर्छन्। उनलाई तिमोथीका आँसुहरू सम्झना छन्, सायद उनीहरू छुट्टिँदाको क्षणमा बगेका आँसुहरू। पावल तिमोथीलाई व्यक्तिगत रूपमा भेट्न अत्यन्तै चाहन्छन्, किनकि त्यसले उनलाई आनन्दले भरिदिनेछ।
तपाईं कसलाई भेट्न उत्सुक हुनुहुन्छ?
सेवकाइमा तपाईंको तिमोथी को हुनुहुन्छ?
५–७ पावल तिमोथीको विश्वास र परमेश्वरको वरदान प्रज्वलित राख्न सम्झाउँछन्
पद ५ मा पावल तिमोथीको निष्कपट विश्वास सम्झन्छन्, जुन पहिले उनकी हजुरआमा लोइसमा, अनि उनकी आमा युनिसमा थियो, र अहिले तिमोथीमा पनि छ। यही कारण पावल तिमोथीलाई परमेश्वरको वरदान प्रज्वलित राख्न सम्झाउँछन्, त्यो वरदान, जुन पावलले हात राख्दा तिमोथीलाई दिइएको थियो।
पावललाई थाहा छ कि तिमोथी परमेश्वरमा विश्वास गर्छन्, येशूमा भरोसा राख्छन्, र उनी विश्वासयोग्य छन्। पावललाई थाहा छ कि तिमोथी दबाबमा छन्, सेवकाइमा विरोध, डर र निराशाको सामना गरिरहेका छन्। पावल कैदमा परेका छन् र चाँडै नै आफ्नो मृत्युको प्रतीक्षा गरिरहेका छन्, त्यसैले उनले तिमोथीलाई साहसी, विश्वासी र निडर रहन आग्रह गर्न लेख्छन्। पावल चाहन्छन् कि तिमोथीले येशूको लागि भएको आगोलाई फेरि एक पटक जलाउन्। उनले परमेश्वरको वरदान निभ्न नदिऊन्, तर निरन्तर प्रज्वलित राखून्।
प्रकाश २:४ मा येशूले एफिसीको मण्डलीलाई भन्नुहुन्छ, “तिमीहरूले पहिलेको प्रेम त्यागेका छौ।” तिमोथी त्यही एफिससमा थिए, जहाँ पावलले उनलाई मण्डलीको जिम्मेवारी दिएका थिए। त्यसैले पावल तिमोथीलाई फेरि आगो बलाउन आग्रह गर्छन्।
परमेश्वरको वरदान के हो?
परमेश्वरको वरदान ख्रीष्ट येशूको सुसमाचार हो। परमेश्वरको वरदानलाई हामी अलि फराकिलो बुझाइमा सुसमाचारको सेवकाइ, आत्मिक सामर्थ्य, र तिमोथीलाई सुम्पिएको जिम्मेवारी भनि बुझ्न सक्छौं। पावलले तिमोथीलाई सुसमाचार सिकाएका थिए, र अब तिमोथीले सुसमाचार अनुसार बाँच्न र अरूलाई सिकाउनुपर्थ्यो। सुसमाचार लुकाउने कुरा होइन। आगो लागेको कुरा लुक्न सक्दैन, त्यसले वरिपरिका सबैलाई असर गर्छ। त्यसरी नै तिमोथीको विश्वास पनि प्रज्वलित भएर अरूलाई प्रकाश दिनुपर्थ्यो।
पावल यही चाहन्छन्, तिमोथी ख्रीष्टको खातिर जोशिलो रहून्।
अब हामी आफैंलाई सोधौं:
के मेरो विश्वास प्रज्वलित छ?
अन्ततः, हामी सबैले आफैंलाई सोध्नै पर्छ, के हामी येशूको लागि जलिरहेका छौं, कि हाम्रो विश्वास निभ्दै गएको छ? प्रकाश ३:१६ मा येशूले भन्नुहुन्छ, मनतातो विश्वास उहाँलाई मन पर्दैन।
तर पावल तिमोथीलाई प्रज्वलित देख्न चाहन्छन्, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम, र आत्मसंयमको आत्मा दिनुभएको छ। र यही आत्माले हामीलाई पनि निडर बनाउँछ, अरूलाई प्रेम गर्न सिकाउँछ, र जिम्मेवारीका साथ जीवन जिउन सक्षम बनाउँछ।
प्रश्न: आज येशूको लागि तपाईं कसरि प्रज्वलित रहनुभएको छ?


