शरणस्थानका शहरहरू (यहोशू २०)
Cities of Refuge (Joshua 20)
हामी सबै गल्ती गर्छौं, होइन र? कहिलेकाहीँ जानीजानी, र कहिलेकाहीँ अनजानमा।
जब हामीलाई थाहा हुन्छ कि हामीले केही गल्ती गरेका छौं, हामी प्रायः त्यसलाई सच्याउने प्रयास गर्छौं। यदि सकेनौं भने, हामी यसलाई लुकाउन, अस्वीकार गर्न वा अरू कसैलाई दोष दिन प्रयास गर्छौं।
किन?
किनकि हामीलाई हाम्रो कार्यको परिणाम भोग्न मन पर्दैन।
मेरो एकजना साथीले उसको तीन वर्षको छोरीले आफ्नो गल्तीहरू ढाकछोप गर्न जहिले पनि रचनात्मक ढंगले विभिन्न बहाना बनाउँछिन रे। मलाई लाग्छ कि छोरा र छोरीहुनेहरूले यो कुरा महसुस गरेको हुनुपर्छ। मेरो पनि आठ र पाँच वर्षका दुई छोराहरू छैन्, र म पनि यो कुरमा सहमति जनाउँछु। तर हामी ठुलाहरू (वयस्क) पनि धेरै फरक छैनौं। हामी अझै पनि गल्ती गर्छौं, र अझै पनि समस्यामा पर्न मन पराउँदैनौं।
त्यसोभए केही कुराको क्षति भइसकेपछि र त्यो मर्मत गर्न नसकेपछि तपाईं के गर्नुहुन्छ?
सुरक्षा, कृपा र सहायताको लागि तपाईं कहाँ जानुहुन्छ?
यहोशू २० पढौं।
२०:१-६ शरणस्थानका शहरहरू निर्माण गर्ने निर्देशन
यो खण्ड पढ्दा मेरो मनमा आएको पहिलो प्रश्न हो: परमेश्वरले इस्राएललाई शरणस्थानहरू स्थापना गर्न किन आदेश दिए?
खैर, यो आज्ञा नयाँ थिएन। परमेश्वरले पहिले नै गन्ती ३५:९-१३ मा शरणस्थानहरू स्थापना गर्न इस्राएललाई निर्देशन दिइसक्नुभएको थियो। यहोशू २० ले प्रतिज्ञा गरिएको भूमिमा प्रवेश गरेपछि इस्राएलले त्यो आज्ञा पालन गरेको रेकर्ड गर्दछ।
कहिलेकाहीं हामी यस्ता खण्डहरू पढ्छौं र तिनीहरू अनौठा र आधुनिक जीवनबाट टाढा देखिन्छन्। हामी शरणस्थानहरूको बारेमा सुन्छौं र सोच्दछौं कि आज हाम्रो लागि तिनीहरूको के सान्दर्भिकता छ।
तर शरणस्थानको आवश्यकता अझै पनि धेरै वास्तविक छ। आज मानिसहरू युद्ध, सतावट, हिंसा र अन्यायबाट शरण खोज्छन्। यहोशूमा शरणस्थानहरू आधुनिक शरणार्थी प्रणालीहरू भन्दा फरक भए तापनि, दुवैले हामीलाई सम्झाउँछन् कि मानिसहरूलाई कहिलेकाहीं उनीहरूको मुद्दाको निष्पक्ष जाँच गर्दा सुरक्षा चाहिन्छ।
पद ३ ले हामीलाई बताउँछ कि यी शहरहरूमा ती सबै व्यक्तिहरू जानसक्थे जसले अनजानमा वा गल्तिले अर्को व्यक्तिको मृत्यु गरेका थिए। त्यस्तो व्यक्ति शरणस्थानमा भाग्न सक्थ्यो र बदला लिने व्यक्तिबाट आफ्नो मुद्दाको सुनुवाइ नभएसम्म सुरक्षित रहन सक्थ्यो।
झट्टै हेर्दा, हामी सोध्न सक्छौं, “किन परमेश्वरले कसैको ज्यान लिने व्यक्तिलाई जोगाउनको लागि एस्तो ठाउँ दिनुभएको?”
उत्तर यो हो कि तिनीहरू असलमा हत्यारा नहुनसक्छन्। तिनीहरूलाई मृत्युको आरोप लागेको थियो, तर तिनीहरूको दोष अझै निर्धारण भएको थिएन। परमेश्वरले बदला वा भावनात्मक प्रतिक्रियाहरू मार्फत भन्दा न्याय निष्पक्ष रूपमा गरिनेछ भनेर सुनिश्चित गर्दै हुनुहुन्थ्यो।
हामीलाई थाहा छ कि मानिसहरू प्रायः न्याय गर्न छिटो हुन्छन्, विशेष गरी जब हामीले माया गर्ने कसैलाई हानि पुर्याइएको छ भने। रिसले हामीलाई सबै तथ्यहरू थाहा पाउनु अघि नै निष्कर्षमा पुर्याउछ।
यसले मलाई काग र सर्पको कथाको सम्झना गराउँछ। कागले हार चोर्यो र सर्पको प्वालमा फ्याँक्यो। जब रानीको सिपाहीहरूले त्यहाँ हार भेट्टाए, तिनीहरूले सर्प जिम्मेवार भएको ठानेर सर्पलाई मारे।
तर के सर्प साँच्चै दोषी थियो?
सिपाहीहरूले अपूर्ण प्रमाणको आधारमा काम गरे। त्यसैगरी, जब हामीलाई सम्पूर्ण कथा थाहा हुँदैन तब हामी त्रुटिपूर्ण निर्णय गर्न सक्छौं। त्यसमाथि अरुको ज्यानको जिम्मेवारी लिनु सबैभन्दा जोखिमपूर्ण काम हो।
परमेश्वरले मानिसको स्वभावमा यो प्रवृत्ति बुझ्नुभयो। यही एउटा कारण थियो कि उहाँले शरणस्थानको शहरहरू स्थापना गर्नुभयो। उहाँले अभियुक्त व्यक्तिलाई समयपूर्व न्यायबाट जोगाउँदै हुनुहुन्थ्यो र बदला लिने व्यक्तिलाई निर्दोषको रगतको दोषी हुनबाट जोगाउँदै हुनुहुन्थ्यो।
प्रश्न १. जब कसैले तपाईंलाई अन्याय गरेको छ वा पीडा दिएको छ, के तपाईं छिटो न्याय गर्न र बदला लिनुहुन्छ? तपाईं कसरी आफ्नो हातमा मामिला लिनुको साटो परमेश्वरको न्यायलाई पर्खन र भरोसा गर्न सक्नुहुन्छ?
पद ४-५ ले हामीलाई बताउँछ कि भागेर जाने मानिस त्यो शहरको प्रवेशद्वारमा उभिनुपर्थ्यो र धर्म-गुरुहरू (एल्डर) समक्ष आफ्नो मुद्दा प्रस्तुत गर्नुपर्थ्यो। एल्डरहरूले उसको प्रारम्भिक गवाही सुन्नुपर्थ्यो र पूर्ण मुद्दा नआउन्जेलसम्म उसलाई शहरमा प्रवेश दिनुपर्छ कि पर्दैन भनेर निर्णय गर्नुपर्थ्यो।
कल्पना गर्नुहोस् कि त्यो भगोडा तपाईं हुनुहुन्छ। कसैको मृत्यु भएको छ। पीडितको परिवार रिसाएको छ। मानिसहरू तपाईंलाई पछ्याइरहेका छन्। तपाईं अन्ततः शहरको ढोकामा आइपुग्नु भएको छ र भित्र पस्न अनुमति दिनु अघि आफ्नो मुद्दाको पक्षमा बोल्नुपर्छ। त्यो हरेक क्षण ढोका बाहिर उभिदा कस्तो लाग्ला?
बाइबलले हामीलाई एल्डरहरूले आफ्ना निर्णयहरू कसरी गरे भन्ने बारे सबै विवरणहरू दिँदैन, तर यो स्पष्ट छ कि परमेश्वरले न्याय निष्पक्ष होस् भन्ने चाहनुहुन्थ्यो। निर्णयहरू भावना, व्यक्तिगत प्रभाव, वा पीडितको परिवारको दबाबबाट प्रेरित हुनुहुँदैनथ्यो।
भगोडालाई उसको मुद्दा विचार गरिरहँदा सुरक्षा गर्ने जिम्मेवारी पनि एल्डरहरूको थियो।
पद ६ ले हामीलाई बताउँछ कि त्यो व्यक्ति सभामा मुद्दा नउठुन्जेल शहरमै बस्नुपर्थ्यो। यदि नरसंहारको (दुर्घटनावश हत्या) (manslaughter, killing accidentally) दोषी ठहरियो भने, ऊ प्रधान पूजाहारीको मृत्यु नभएसम्म शहरमा सुरक्षित रूपमा रहन सक्थ्यो। त्यसपछि, ऊ घर फर्कन स्वतन्त्र थियो।
यी पदहरूबाट हामी दुई महत्त्वपूर्ण सत्यहरू सिक्छौं।
पहिलो, परमेश्वर न्यायप्रति गहिरो रूपमा चिन्तित हुनुहुन्छ। उहाँ निष्पक्ष सुनुवाइ बिना मानिसहरूलाई दोषी ठहराउन चाहनुहुन्न। उहाँ निर्दोषलाई हतारमा निर्णय गर्नबाट जोगाउनुहुन्छ र तथ्यहरूलाई ध्यानपूर्वक जाँच गर्न जोड दिनुहुन्छ।
दोस्रो, परमेश्वर दयालु हुनुहुन्छ। सुरक्षाको अत्यन्त आवश्यकता परेकाहरूका लागि उहाँले शरणस्थानको व्यवस्था गर्नुभयो। यसले हामीलाई सम्झाउँछ कि परमेश्वर स्वयम हाम्रो परम शरणस्थान, सुरक्षा, दया र आशाको ठाउँ हुनुहुन्छ जब हामी आफैंलाई बचाउन सक्दैनौं।
प्रश्न २. जब तपाईं आफ्नो पापको बारेमा सचेत हुनुहुन्छ, तपाईं कसरी प्रतिक्रिया दिनुहुन्छ? ख्रीष्ट मार्फत परमेश्वरमा शरण लिनु भनेको तपाईको लागि के हो?
२०:७-८ छ वटा शहर तोकिएको
पद ७ र ८ मा, यहोशूले छ वटा शहरहरूलाई शरणस्थानको रूपमा तोकेका छन्: केदेश, शेकेम, किर्यथअर्बा (अर्थात्, हेब्रोन), बेजेर, रामोथ र गोलान।
हामी आज प्रत्येक शहरको विवरणमा ध्यान केन्द्रित गर्नेछैनौं, तर तिनीहरूले के प्रतिनिधित्व गर्छन् भनेर हामीले ध्यान दिनुपर्छ। यी शहरहरूले परमेश्वरको प्रेम र दया प्रकट गर्छन्। परमेश्वरले मानिसहरूलाई जोखिममा पर्दा वा न्यायको आवश्यकता पर्दा सुरक्षा वा आशा बिना छोड्नुभएन। उहाँले उहाँको आज्ञाद्वारा पहुँचयोग्य, उपलब्ध र नियुक्त वास्तविक शरणस्थानहरू प्रदान गर्नुभयो।
तर यी शहरहरूले आफैंभन्दा बाहिर पनि औंल्याउँछन्। तिनीहरू परमेश्वरले मात्रै प्रदान गर्नुहुने ठूलो र अन्तिम शरणस्थानको तस्वीर हुन्। ठाउँ होइन, तर एक व्यक्ति। त्यो शरणस्थान ख्रीष्ट हुनुहुन्छ। उहाँमा हामी न्यायबाट परम सुरक्षा र पापीहरूका लागि एक मात्र सुरक्षित ठाउँ पाउँछौं।
प्रश्न ३. तपाईं जोखिम वा खतरामा पर्दा कहाँ दौडनुहुन्छ?
२०:९ जो कोहीले पनि शरण लिन सक्थे
रोचक कुरा के छ भने, ती शरणस्थानका शहरहरू केवल इस्राएलीहरूका लागि मात्र थिएनन्।
पद ९ ले हामीलाई बताउँछ कि इस्राएलीहरू र तिनीहरूका बीचमा बस्ने विदेशीहरू दुवै यी तोकिएका शरणस्थानहरूमा भाग्न सक्थे। यसले परमेश्वरको दयाको व्यापकता देखाउँछ। परमेश्वरले आफ्ना करारका मानिसहरूका लागि मात्र होइन तर तिनीहरूका बीचमा बस्ने अपरिचितहरूको लागि पनि सुरक्षाको बाटो बनाउनुभयो।
त्यसैगरी, परमेश्वर सबै मानिसहरूका लागि शरणस्थान हुनुहुन्छ भनि हामी बुझ्छौं। हामी जातीय, सामाजिक, आर्थिक वा शैक्षिक रूपमा को हौं भन्ने कुराले फरक पार्दैन। हामी चर्चमा कुन पदमा छौं वा हामी कति समयदेखि विश्वासी छौं भन्ने कुराले फरक पार्दैन। विश्वासमा परमेश्वरतिर फर्कने जो कोहीले पनि उहाँमा शरण पाउछ।
परमेश्वर उहाँलाई खोज्ने सबैप्रति दयालु हुनुहुन्छ। जसरी यूहन्ना ३:१६ ले हामीलाई सम्झाउँछ, “किनभने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने जो कोही नाश नहोस् तर अनन्त जीवन पाओस्।”
परमेश्वरले पहिले नै येशू ख्रीष्ट मार्फत मुक्तिको बाटो प्रदान गर्नुभएको छ। अब जिम्मेवारी हाम्रो हो, हामी उहाँकहाँ आउनुपर्छ।
भजनसंग्रह ३४:८ ले हामीलाई निम्तो दिन्छ: “पारख र हेर कि परमप्रभु भला हुनुहुन्छ।” यदि हामीले उहाँको भलाइको स्वाद लिएका छौं र उहाँलाई हाम्रो शरणस्थानको रूपमा पाएका छौं भने, हामीलाई अरूलाई पनि बोलाउन र त्यही आशा अनुभव गर्न भनिएको छ।
२ कोरिन्थी १:४ ले भनेझैं, परमेश्वरले हाम्रा सबै समस्याहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले आफैंले पाएको सान्त्वनाले अरूलाई सान्त्वना दिन सकौं।
यो शरणस्थान आफैंमा राख्नुपर्ने कुरा होइन। यो बाँड्नुपर्ने कुरा हो।
त्यसोभए प्रश्न यो छ: हामी कसरी अरूमा परमेश्वरको दया बाँड्न सक्छौं, र उनीहरूलाई पापीहरूको लागि एक मात्र सुरक्षित शरणस्थान येशूमा कसरी औंल्याउन सक्छौं?


