पावलले तिमोथीलाई केही मानिसहरूबाट टाढा रहन भन्छन् (२ तिमोथी ३:१–९)
Timothy Should Avoid Certain People (2 Timothy 3:1-9)
१–५ केही व्यक्तिहरूबाट टाढा रहनु
पद १ मा पावलले किन अन्तिम दिनहरू कठिन हुनेछन् भन्छन्?
“अन्तिम दिनहरू” भन्नाले येशूको दोस्रो आगमनअघि भएका दिनहरू जनाउँछ (२ पत्रुस ३:३; यहूदा १८)। हामी अहिले अन्तिम दिनहरूमा बाँचिरहेका छौं। पावलले चेतावनी दिन्छन् कि अन्तिम दिनहरूमा मानिसहरूमा स्वार्थ, घमण्ड, बिग्रिएका सम्बन्धहरू, आत्म–नियन्त्रणको कमी, र परमेश्वरभन्दा भोगविलासलाई बढी प्रेम गर्ने गुणहरू बढ्नेछन्।
पावलले १९ नकारात्मक गुणहरूको सूची बनाएका छन्। यस्ता नकारात्मक गुणहरु भएका मानिसहरू बाहिरी रूपमा धार्मिक देखिनेछन्, तर उनीहरूको जीवनले त्यसको साँचो शक्तिलाई अस्वीकार गर्नेछ। छोटकरीमा भन्नुपर्दा, उनीहरू परमेश्वर बाहेक अरू सबै कुरालाई प्रेम गर्छन्।
प्रश्न: यस्ता व्यक्तिहरूबाट टाढा रहन र परमेश्वरसँग नजिक हुन तपाईं के गर्नुहुन्छ?
सायद भजनसंग्रह १४ ले यस्ता मानिसहरूका स्वभावमा थप प्रकाश पार्न सक्छ।
६–७ यस्ता व्यक्तिहरूदेखि होसियार रहनु
पहिलो पाँच पदहरूमा पावलले अन्तिम दिनहरूमा मानिसहरूमा देखिने स्वार्थ, पैसा र सुखविलासप्रतिको प्रेमजस्ता विशेषताहरूलाई औंल्याएका छन्। पद ६ मा, पावलले भन्छन् कि यी मानिसहरू घर-घर पस्छन् र कमजोर स्त्रीहरूलाई आफ्नो नियन्त्रणमा पार्छन्। त्यसैले हामी होसियार हुनुपर्छ।
“कमजोर” स्त्रीहरू भनेको के होला?
पावलले कमजोर स्त्रीहरूका विशेषताहरू यसरी दिएका छन्:
पापले थिचिएका
विभिन्न इच्छाहरूको कब्जामा परेका
सधैँ सिक्ने
तर सत्यको ज्ञानमा कहिल्यै पुग्न नसक्ने
यी स्त्रीहरूलाई आफ्ना पापहरूको बारे थाहा छ, तर दुःखको कुरा, उनीहरू सुसमाचारको सत्यतामा बाँचिरहेका देखिँदैनन्।
उदाहरणहरू:
अरूको कुरा काट्नु गलत हो भनेर जान्छन्, तर पनि त्यसो गर्न छोड्दैनन्
रिस विनाशकारी हुन्छ भन्ने थाहा छ, तर परिवारका सदस्यहरूमाथि नियमित रूपमा रिस पोख्छन्
इमानदार हुनुपर्छ भन्ने थाहा छ, तर फाइदा हुँदा धोका दिन्छन् वा झूट बोल्छन्
क्षमा गर्नुपर्छ भन्ने थाहा छ, तर हृदय तीतोपनले भरिएको हुन्छ
किन यस्तो हुन्छ?
सायद उनीहरूले सुसमाचारको सत्यता बुझ्न सकेका छैनन्। सायद सुसमाचार उनीहरूका लागि अनौठो र चुनौतीपूर्ण छ। उनीहरूले आफ्नै फाइदाका लागि मात्र धार्मिक गतिविधिमा संलग्न छन्। त्यसैले उनीहरू झूटा शिक्षकहरूको सजिलो शिकार बन्न सक्छन्।
तपाईंले कहिल्यै सोच्नुभएको छ कि किन केही ख्रीष्टियनहरू यति सजिलै विश्वासबाट पछि हट्छन् वा झूटा शिक्षकहरूले ख्रीष्टियनहरूलाई नै किन आक्रमण गर्छन्?
जवाफ सरल छ — विश्वासको कमजोर भएको कारणले। उनीहरूको विश्वास परमेश्वरमा अडिएको छैन। उनीहरू लङ्गरबिनाको डुङ्गाजस्तै अनिश्चित छन्।
पद ७ ले भन्छ कि यी स्त्रीहरू विद्वान वा ज्ञानी देखिन चाहन्छन्, तर वास्तवमा सत्यबाट अनभिज्ञ नै रहन्छन्। उनीहरूले चर्चमा लामो समय बिताइसकेका भए पनि जीवन परिवर्तन भएको छैन। यद्यपि, हामीले पुरुषहरूलाई बिर्सनु हुँदैन। वर्तमान सन्दर्भमा, हामी यो पनि भन्न सक्छौं कि माथि उल्लेख गरिएका स्त्रीहरू जस्तै हाम्रो वरिपरि पनि यस्तै पुरुषहरू छन्, जसले सिक्न त सिक्छन् तर कहिल्यै निष्कर्षमा पुग्दैनन्।
घरभित्र पस्न धोका
पावलले भन्छन् कि यी मानिसहरू जानाजानी घरभित्र पस्छन्। त्यसैले हामीले सोध्नुपर्छ कि तिनीहरू घरमा कसरी प्रवेश गर्छन्? घरको मुखियाले अनुमति दिएको कारणले यस्तो भएको हुन सक्छ, वा अनुमति बिना नै धोका दिएर प्रवेश गर्छन्। जे भएपनि, दुवै अवस्था समस्याग्रस्त छन्। उनीहरूले कमजोर स्त्रीहरूलाई कब्जा गर्न खोज्छन्।
तसर्थ, घरको मुखिया (पति) विश्वासमा बलियो हुनुपर्छ। तब मात्र उसले आफ्नी श्रीमती सहित आफ्नो परिवारको रक्षा गर्न सक्छ। पावलले एफिसी ५:२३ मा भनेका छन् कि ख्रीष्ट मण्डलीको शिर जस्तै, पति पत्नीको शिर हो। यदि पतिहरू बाइबल सिकाउँदैनन् र प्रचार गर्दैनन् भने, पत्नीहरूले अरुबाट सिक्ने प्रयास गर्न सक्छन्।
प्रश्न: परमेश्वरको वचनमा अडिग रहन तपाईं के गर्दै हुनुहुन्छ? तपाईं आफ्नो परिवारलाई यी हानिकारक प्रभावबाट कसरी जोगाउँदै हुनुहुन्छ?
८–९ सत्यको विरोध गर्नेहरू
पावल पुरानो नियमबाट उदाहरण दिन्छन् — यान्नेस र याम्ब्रेस, जसले मोशा र सत्यको विरोध गरे। ती मानिसहरू फारोहका दरबारका जादुगरजस्तै थिए। आज पनि यस्ता झूटा शिक्षकहरूको धेरै अनुयायी हुन्छन् किनभने मानिसहरू बाइबलभन्दा तिनीहरूको कुरा सुन्न बढी रुचाउँछन्। यदि तपाईंले युट्युबमा (youtube) हेर्नुभयो भने, यस्ता यान्नेस र याम्ब्रेस जस्ता धेरै व्यक्तिहरू छन् किनभने तिनीहरूले उनीहरूलाई खुशी पार्छन्। तर पावल भन्छन् कि आशा छ, “ती दुई मानिसको जस्तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।”
प्रश्न: परमेश्वरको विरोध गर्ने मानिसहरूबाट तपाईं कसरी जोग्गिनुभएको छ?


